टी-२० विश्वकप एसिया छनोटमा ओमानको लगातार दोस्रो जित, नेपाललाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमा
काठमाडौं : टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत मंगलबार भएको समूह ‘ए’को खेलमा ओमानले लगातार दोस्रो जित निकालेको छ।
१७५ रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रनमा समेटिएपछि ओमानले २२ रनले खेल जितेको हो।
सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ रन बनाए। मनप्रित सिंह ३१, अनिश परम २६, अरित्र दत्त १३ र रोहन रङ्गराजनले १२ रन जोडे।
ओमानका बिलाल खान र फयाज बटले समान दुई-दुई विकेट लिँदा साकिल अहमद, जिसान मक्सुद, आकिब इलियास र मोहम्मद नदीमले समान-एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ।
ओमानका लागि उपकप्तान आकिब इलियास खानले ६३ रनको अर्धशतकीय पारी खेल्दा प्रतिक अथाभेल ४२, कप्तान जीसान मक्सुद २६ र कश्यम प्रजापतिले १२ रन जोडे।
सिंगापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई–दुई विकेट लिए।
जितसँगै ओमान ४ अंकसहित अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। समूह ए मै रहेको घरेलु टोली नेपाल दुई अंकसहित दोस्रो स्थानमा छ। मलेसिया तेस्रो र सिंगापुर चौथो स्थानमा छ।
कात्तिक १४, २०८० मंगलबार १२:२६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।