'दिमाग खराब' फिल्मको प्रचार गर्न क्रिकेट क्रेजको सहारा, नाफा कमायो भने पाँच प्रतिशत क्यानलाई दिने
काठमाडौँ : फिल्मको पक्षमा सकारात्मक माहौल बनाउन सामाजिक सञ्जालमा दिमाग खराब सिरिजका कार्यक्रम चलाइरहेको निर्माण टिमले नेपाली क्रिकेट क्रेजलाई क्यास गर्न पुरस्कार घोषणा गर्यो। युट्युब अनि टिकटकमा निर्माण टिमले अहिले दिमाग खराब सो चलाइरहेका छन्। सो कार्यक्रम स्ट्याण्डअप कमेडियन तथा फिल्मका कलाकार सुमन कार्कीले चलाइरहेका छन्।
सामाजिक सञ्जालमा राखिएका सामग्रीको भ्युज उत्साहजनक नभएपछि क्रिकेटको टी-२० एसिया छनोटमा सहभागी नेपाली टोलीका खेलाडीका लागि फिल्मको नाम जोडेर पुरस्कार घोषणा गर्यो सोमबार।
प्रतियोगितामा म्यान अफ द म्याच’हुने नेपाली खेलाडीलाई ५० हजार, टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार पुरस्कार दिने घोषणा गरेको हो।
पुरस्कार नेपाली खेलाडीले मात्र पाउने र छनोट नेपाल क्रिकेट सङ्घ (क्यान)ले गर्नेछ। निर्माण टिमले फिल्मले लगानी उठाएर नाफा कमाएमा त्यसको ५ प्रतिशत क्यानको विकासका लागि दिने समेत घोषणा गरेको छ।
अधिकांश फिल्म निर्माताहरू फिल्मको प्रचार गराउन युट्युबवरमा भर पर्ने गरेका थिए। पैसा तिरेर टक सोहरूमा जाने खराब ट्रेन्ड बढिरहेको बेलामा दिमाग खराब टिमले प्रचारका लागि क्रिकेट प्रतियोगिता छानेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, माओत्से गुरुङ लगायतका कलाकार रहेका छन्। यसका निर्देशक निश्चल बस्नेत हुन्। आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर छन्। फिल्म कात्तिक २४ मा रिलिज हुँदैछ।
कात्तिक १३, २०८० सोमबार १९:२८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।