बारामा शिक्षक स्वर्णकार हत्या आरोपमा एक जना पक्राउ

बारामा शिक्षक स्वर्णकार हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं : बारामा शिक्षक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ। 

कलैया उपमहानगरपालिका–६ मा सोमबार दिउँसो करिब सवा १ बजे शिक्षक रुपेश स्वर्णकारलाई गोली हानि फरार भएको आशंकामा एक जनालाई पक्राउ गरेकाे बारा प्रहरीले जानकारी दिएको छ। 

घटना संलग्नहरुको खोजी कार्य जारी रहेको बताउँदै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने, ‘अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ।’

सोमबार दिउँसो सवा १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो। 

कलैया उपमहानगरपालिका-६ का वडाअध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले घेरेका थिए।

गोली लागे लगत्तै उनलाई कलैया अस्पतालमा उपचार गरेर थप उपचारका लागि वयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको बताउँदै पत्रकार सम्मेलन मार्फत जानकारी दिइने बताएको छ। 

कात्तिक १३, २०८० सोमबार १९:२४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।