गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग गर्दै आन्दोलन
बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग राख्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय उडान नभएपछि सञ्जालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
सञ्जालले सरोकारवाला निकायलाई दवाव दिन विमानस्थलको आन्तरिक उडान रोक्ने देखि सिमा नाका बेलहिया बन्द गर्ने जस्ता कार्यक्रम गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए।
साथै सञ्जालले विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउने उनले बताए।
भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसक्दा नीजि क्षेत्र हतोत्साहित भएका छन्। विमानस्थललाई मध्यनजर गर्दै जिल्लामा खोलिएका होटलहरू समेत बन्द हुने अवस्थामा पुगेका छन्।
सञ्जालका अध्यक्ष ज्ञवालीले सरकारले माग पुरा नगर्दा सम्म आन्दोलन जारी रहने र यो आन्दोलन निर्णायक हुने बताए।
सञ्जालले कात्तिक १४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्स लगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका गाउँपालिका लगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटेर ऐक्यबद्धताका लागि आग्रह गर्ने कार्यक्रम राखेको छ।
साथै आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा सभा गर्ने कार्यक्रम तय गरेको उनले बताए।
त्यसैगरी दुईदिन विमानस्थलको गेटअगाडि धर्ना दिने र त्यति गर्दा पनि सरकार मौन रहे मङसिर २० गतेपछि आन्तरिक उडान अनिश्चित कालसम्म रोक्ने चेतवनी दिइएको छ।
यसका लागि विमानस्थल अगाडि गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ।
कात्तिक १३, २०८० सोमबार १८:०८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।