कञ्चनपुरमा प्रहरी नायब निरीक्षक जुवाखालबाटै पक्राउ, निलम्बन गर्ने तयारी

कञ्चनपुरमा प्रहरी नायब निरीक्षक जुवाखालबाटै पक्राउ, निलम्बन गर्ने तयारी

काठमाडौं : कञ्चनपुरमा जुवा खालबाट नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित आठ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जानकारी दिएको छ। 

पक्राउ पर्नेमा सई थापासँगै पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थान समेत बरामद गरेको छ। 

पक्राउ परेका थापालाई निलम्बन गर्ने तयारी भइरहेको बुझिएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो। 

दोगडाकेदार गाउँपालिका-७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन्।

कात्तिक १३, २०८० सोमबार १७:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।