पोखरा आइपुगे राष्ट्रसंघका महासचिव गुटेरेस

पोखरा आइपुगे राष्ट्रसंघका महासचिव गुटेरेस

पोखरा : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। 

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस सोमबार दिउँसो सेनाको विशेष विमान मार्फत पोखरा आइपुगेका हुन्।

पोखराको पुरानो विमानस्थलमा अवतरण गरेका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले भव्य स्वागत गरेका थिए। 

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक  हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र संघका अन्य अधिकारीहरू सहभागी छन्।

उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। साथै अन्य उच्चपदस्थ व्याक्तीहरुसँग  पनि भेट गरेका थिए।

कात्तिक १३, २०८० सोमबार १५:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।