पत्रकार सम्मेलनमै बेहोस भइन् भारती

पत्रकार सम्मेलनमै बेहोस भइन् भारती
फाइल फोटो

काठमाडौं : श्रीमान् चेतन मानन्धरको खुँडा प्रहार गरि दिनदहाडै हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन्।

दशैंलगत्तै शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार काठमाडौंको भृकुटिमण्डपस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा पुगेकी थिइन्।

पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।

अभियुक्त ढकालले नेपालगन्ज-८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुण्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी उनी सोही निर्णयविरुद्ध अनशन बसेकी हुन्।

भारतीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनको सुनुवाइका लागि कात्तिक १४ मा पेसि तोकिएको छ। 

यसअघि गएको असोज २५ गते उक्त मुद्दामा सर्वोच्च अदालतको पुर्ण इजलासले ‘हेर्न नमिल्ने’ आदेश दिएको थियो। 

यस्तै प्रकृतिको मुद्दामा गरिएका फैसलाहरू नजीरको रुपमा रहेको भन्दै प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा.आनन्द मोहन भट्टराई र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरेका थिए। 

सर्वोच्च अदालतले मुलुकी संहिता आउनुभन्दा अघिका घटनामा कैदीहरूले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो। कारागार प्रशासनले सोही नजिरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ।

कात्तिक १३, २०८० सोमबार १४:४३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।