विश्वकप छनोटमा युएईको विजयी सुरूवात, बहराइन पाँच विकेटले पराजित

विश्वकप छनोटमा युएईको विजयी सुरूवात, बहराइन पाँच विकेटले पराजित

काठमाडौं : युएईले आईसीसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा बहराइनलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।

समूह बी मा युएईले दुई महत्वपूर्ण अंक जोडेको हो।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

युएईको जितमा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नट आउट रहे। बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे।

ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए।

बहराइनका तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। अब्दुल मजिद र सचिन कुमारले एक एक विकेट लिए।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो।

बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन।

जुनैद अजिज २५ र सोहेल अहमेद २८ रनमा आउट भए। अन्य बहराइनका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

युएईका जुनैद अजिज र आयन खानले २-२ विकेट लिए। युएईले मंगलबार कुवेत र बिहीबार हङकङसँग खेल्नेछ।

कात्तिक १३, २०८० सोमबार १३:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।