‘सर्टको गोजी र कुर्था सुरुवाल’मा तीन सातादेखि अल्झियो भैरहवा मेडिकल कलेज, प्रिन्सिपलले भनिन्- ‘जे गर्न सक्छ गर’
बुटवल : विद्यार्थीले उठाएको ड्रेस कोडको सामान्य विषय सम्बोधन नभएपछि भैरहवा मेडिकल कलेजका विद्यार्थीको आन्दोलन तेस्रो सातामा प्रवेश गरेको छ।
प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकले विद्यार्थीले उठाएको माग सम्बोधन गर्न इन्कार गरेपछि आन्दोलन तेस्रो सातामा पुगेको हो।
छात्रले लगाउने सर्टमा गोजी हुनुपर्ने र छात्रालाई सर्ट पाइन्टको सट्टामा कुर्ता सुरुवाल लगाउनुपर्ने सामान्य विषयलाई प्रिन्सिपल पाठकले इन्कार गर्दा अहिले विद्यार्थी तीन सातादेखि आन्दोलनमा छन्।
आफ्ना माग सम्बोधन गर्न नमानेपछि अहिले विद्यार्थीहरूले पाठकलाई प्रिन्सिपलबाट हटाउनुपर्ने पहिलो शर्त राखेका छन्। त्यसो नभएसम्म वार्तामा नबस्ने उनीहरूको अडान छ।
विद्यार्थीको आन्दोलनबाट अस्पतालमा आकस्मिक बाहेकको उपचार सेवा ठप्प छ भने त्यहाँ अध्ययन गर्ने एमबीबीएस र बीडीएसका सात सय विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ।
अस्पतालमा एक सय इन्टर्नसीप र डेढ सय जना रेजिडेन्स चिकित्सक छन्। असोज २२ देखि विद्यार्थीहरूले अस्पतालका सबै विभागमा तालाबन्दी गरेर रिले अनसन सुरू गरेका छन्।
‘हामीले उठाएका सामान्य मागमा प्रिन्सिपल लक्ष्मी पाठकले दम्भ देखाउँदै विद्यार्थीलाई के गर्न सक्छौ गर भनेर धम्की दिनुभयो। हाम्रो इन्टर्नसीप रोकिदिने धम्कीसमेत दिनुभयो। त्यसपछि हामी आन्दोलित भएका हौँ। जबसम्म हाम्रा मागप्रति उहाँ गम्भीर बन्नुहुन्न वा राजीनामा दिनुहुन्न तबसम्म सवै विभागमा लगाइएका ताला खोलिदैँन’, आन्दोलनरत एक चिकित्सकले भने।
उनले प्रिन्सिपलले राजीनामा दिनुपर्ने भन्दै अब थप सशक्त आन्दोलन गर्नेसमेत बताए।
‘दशैं बिदा पनि सकिएकाले पनि अब विद्यार्थीहरूको संख्या बढेको छ,’ उनले थपे, ‘अब थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन्।’
असोज दोस्रो साता कलेज प्रशासनले ड्रेसकोड (पोसाक) लागू गर्न खोजेको विषयबाट विद्यार्थी र प्रिन्सिपलबीच उत्पन्न विवादले आन्दोलनको रूप लिएको हो।
असोज १९ गतेदेखि सुरू भएको आन्दोलनमा विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको भनेर सामाजिक सञ्जालमा लेखेर पाठक कार्यकक्षमै बसेकी थिइन्।
बन्धक बनाइएको विषय प्रशासनसम्म पुगेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले उनलाई त्यहाँबाट असोज २८ गते बाहिर निकालेको थियो।
सो क्रममा केही विद्यार्थीहरूबीच धरपकड समेत भएको थियो। त्यसपछि विद्यार्थीहरू थप आन्दोलित भएका हुन्।
बन्धक बनाएको भनिए पनि प्रिन्सिपल पाठकले आफ्नै खुसीले कार्यकक्षमै खाने, कपडा फेर्ने जस्ता काम गरेको त्यहाँ कार्यरत चिकित्सकहरूको भनाइ छ।
विद्यार्थीहरूले प्रिन्सिपल पाठकलाई बन्धक बनाएको नभई उनको कार्यकक्ष बाहिर धर्नामा बसेको बताएका थिए।
आन्दोलनमा अस्पतालमा कार्यरत सबै इन्टर्नसीप र रेजिडेन्ट (आवासीय) चिकित्सक पनि सहभागी छन्। आन्दोलनबाट सेवा नै प्रभावित भएपछि प्रशासनले वार्ताका लागि बारम्बार पहल गरे पनि समस्याको समाधान भएको छैन।
कलेजका सूचना अधिकारी सुशील गुरुङले प्रशासनले ड्रेस कोड लागू नगर्ने बताए पनि विद्यार्थीहरूले प्रिन्सिपलको राजीनामाको माग अगाडि सारेर आन्दोलनलाई जारी राखेको बताए।
विवादस्पद छवि बनाएकी पाठक
उसो त, लक्ष्मी पाठक विवादस्पद डाक्टर हुन्। यसअघि पनि उनी पटक–पटक विवादमा तानिएकी छन्।
डा. ज्ञानेश्वर सिंह प्रकरणमा पनि उनी विवादमा तानिएकी थिइन्। उनलाई नेपाल मेडिकल काउन्सिलले कारबाही समेत गरेको थियो।
त्यस्तै उनकै कारण त्यहाँ कार्यरत एक डाक्टरले राजीनामा समेत दिनु परेको थियो। सञ्चालकहरूसँग नजिक रहेकी पाठकको दम्भका कारण त्यहाँ कार्यरत अन्य कर्मचारीहरू समेत असन्तुष्ट छन्।
कात्तिक १३, २०८० सोमबार १३:१८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।