भारतको मध्यम चुनौती पनि सामना गर्न सकेन इंग्ल्यान्डले, आइसिसी विश्वकप २०२३ बाट बाहिरिने पक्का

भारतको मध्यम चुनौती पनि सामना गर्न सकेन इंग्ल्यान्डले, आइसिसी विश्वकप २०२३ बाट बाहिरिने पक्का

काठमाडौँ : इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ को आइतबारको खेलमा घरेलु टोली भारतसँग १ सय रनले लज्जास्पद रूपमा हार्यो। साबिक विजेता रहेको इंग्ल्याण्ड भारतसँग हारेसँगै लिगबाटै बाहिरिने निश्चित भएको छ।

भारतले इंग्ल्याण्डलाई हराएर ६ खेलबाट १२ अङ्क जुटाउँदै सेमिफाइनलको निकट पुगेको छ।

आइतबार बेलुकाको प्रतियोगितामा भारतले दिएको चुनौती असम्भव थिएन। भारतले उसलाई २ सय ३० रनको मात्र चुनौती दिएको थियो। तर इंग्ल्यान्डका ब्याट्सम्यान भारतीय बलरका अगाडि टिक्नै सकेनन्।

३४.५ ओभरमा १ सय २९ रन बनाउँदा इंल्याण्डको सबै विकेट गयो। इंग्ल्यान्ड टिमबाट सर्वाधिक २७ रन बनाउनेमा लियाम लिभिङस्टोन मात्र भए। उनले ४६ बलमा २ चौकासहित २७ रन बनाएका थिए। अन्य ब्याटर टिक्नै सकेनन्।

इंग्ल्यान्डलाई ओपनर डेभिड मलान र जोनी बेयरस्टोले ४.५ ओभरमा ३० रन जोडेका थिए। तीव्र गतिका बलर जस्प्रित बुमराहले मलानलाई १७ रनमा बोल्ड आउट गरेका थिए।

लगत्तै उनको अर्को बलमा जो रुट एलबीडब्लूको धरापमा परेर गोल्डेन डक आउट भए। आठ ओभरको अन्तिम बलमा मोहम्मद शामीले बेन स्टोक्सलाई शून्यमै बोल्ड गरे।

शामीले नै जोनी बेयरस्टोलाई १४ रनमा बोल्ड आउट गरेका थिए। कुलदीप यादवले जस बटलरलाई १० रनमा बोल्ड आउट गरे।

भारतका मोहम्मद शाममीले ७ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिएका थिए। जस्प्रित बुमराहले ६.५ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए। कुलदीप यादवले २ र रवीन्द्र जडेजाले एक एक विकेट लिएका थिए।

इंग्ल्याण्डले टस हारे पनि ब्याटिङको मौका पाएको थियो। भारतले पहिला बलिङ रोज्यो। भारतले पुरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। रोहित शर्माले १ सय १ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए।

उनी स्पिनर आदिल राशिदको बलमा क्याच आउट भएर शतक बनाउन चुके। केएल राहुलले ३९ रन र सूर्यकुमार यादवले ४९ रन बनाएका थिए।

ओपनर शुभमन गिललाई क्रिस वोक्सले ९ रनमा बोल्ड आउट गरेका थिए। डेभिड विल्लीको बलमा विराट कोहली शून्यमा क्याच आउट भए। वोक्सको बाउन्सर बलमा श्रेयस ऐर ४ रनमा क्याच आउट भए।

भारत ११.५ ओभरमा ४०-३ को अवस्थामा पुगेर कमजोर बनिसकेको थियो। चौथो विकेटका लागि रोहित र लोकेश राहुलले ९१ रनको साझेदारी गरेर लय समाते। राहुल जोनी बेयरस्टोबाट ५८ बलमा ३ चौकासहित ३९ रन बनाएर क्याच आउट भएका थिए।

रवीन्द्र जडेजा ८ र मोहम्मद शामी १ रनमा आउट भए। सूर्यकुमार यादव ४७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा क्याच आउट भएका थिए।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिएका थिए भने डेभिड विल्लीले १० ओभरमा २ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिएका थिए।

कात्तिक १२, २०८० आइतबार २३:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।