हलमा १० हजार टिकट नबिकेर सुपर फ्ल्प भएको फिल्म युट्युबमा १६ लाख पटक हेरेर सुपर हिट !

हलमा १० हजार टिकट नबिकेर  सुपर फ्ल्प भएको फिल्म युट्युबमा १६ लाख पटक हेरेर सुपर हिट !

काठमाडौँ : गत वर्ष रिलिज भएको नेपाली फिल्म फूलबारी हलमै गएर हेर्ने दर्शकको सङ्ख्या निकै कम थियो। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार जम्मा १ लाख २६ हजार ५ सय ४९ वटा टिकट विक्री भएको थियो यो फिल्मको।

पारिवारिक कथामा बनेको यो फिल्म हिन्दी फिल्म बागवानबाट प्रभावित देखिएको थियो। रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, दयाहाङ राई, शिल्पा मास्के, मनिष ढकाल लगायतका कलाकारले अभिनय गरेका थिए।

फिल्मको ग्रस कलेक्सनै तीन करोड ८४ लाख रहेकाले निर्माताको लगानी फिर्ता आउन हम्मे नै परेको देखियो। त्यही फिल्म एक साता अगाडि युट्युबमा रिलिज भएपछि लगातार ट्रेन्डिङको पहिलो नम्बरमा छ। आइतबार दिउससम्म ४६ लाख पटक फिल्म हेरिइसकिएको छ।

एक लाख बढि लाइक पाएको फिल्मको एउटा पनि डिसलाइक छैन। ६ हनार वटा त प्रतिक्रियामात्र छन् त्यो पनि सकारात्मक।

यही नतिजा हलमा देखिएको भए फूलबारी अहिलेसम्म सबैभन्दा धेरै कलेक्सन गर्ने नेपाली फिल्म बन्थ्यो। निर्माता मालामाल हुन्थे।

किनकि नेपाली फिल्म हिट हुन ४६ हैन ६ लाख दर्शक हलसम्म पुगिदिए पुग्छ। २०७९ मै हिट भएको फिल्म छक्कापञ्जा-४ को ६ लाख २९ हजार टिकट काटिएको थियो। त्यसबाटै निर्माण टिमले १७ करोड ५२ लाख ग्रस कलेक्सन गरेका थिए।

अर्को हिट फिल्म जारीको ६ लाख १९ हजार टिकट काटिदा १७ करोड १७ लाख ग्रस कलेक्सन भएको थियो।

फूलबारी युट्युबमा जति पटक हेरिएको छ त्यति दर्शक टिकट काटेर हलसम्म गएको भए यसको ग्रस कलेक्सनै ५० करोडमाथिको हुन सक्थ्यो। तर दर्शक हलसम्म जान तयार भएनन्। तर जब युट्युबमा रिलिज भयो दर्शक झुम्मिए।

जम्मा ९ हजार ६ सय १७ वटा मात्र टिकट काटिएको सुपर फ्लप फिल्म छड्के २ पोइन्ट जिरो युट्युबमा रिलिज भएको नौ दिनमा १५ लाख पटक हेरिसकियो। युट्युबको भ्युज हलमा पुगेको भए अनमोल केसीको अभिनय यात्रा यसरी ड्यामेज हुने थिएन।

फिल्म सुपर फ्लप भएपछि अभिनेता अनमोल यति निराश भए कि लामो समय अर्को फिल्म अभिनय गर्ने हिम्मत समेत जुटाउन सकेनन्। सहमति गर्ने अनि फिल्म छाड्ने गर्दा मुद्दा समेत खेप्नुपर्यो।

यसको पहिलो सिरिज छड्के भने हिट भएको थियो। त्यसैको दोस्रो सिरिजले भने निर्मातालाई आर्थिक रूपमा थचक्कै बसायो।

अर्को फ्लप फिल्म बाबरी पनि युट्युबमा भने हिट भयो। १३ दिनमा ४० लाख बढी पटक यो हेरिसकियो। हलमा जम्मा ३१ हजार वटा टिकट विक्रीहुँदा ९१ लाख जति ग्रस कलेक्सन भयो। निर्माता बनेकी अदिति बुढाथोकी निराश भएर मुम्बइतिरै लागिन्।

हलमा एक लाख ४१ हजार वटा टिकट विक्री भएको फिल्म दुई नम्बरी युट्युबमा आएको एक महिनामा ८७ लाख पटक हेरिसकियो।

हलमा फ्लप भएका नेपाली फिल्म युट्युबमा हिट हुनुको कारण विदेशमा रहेका नेपाली दर्शक रहेको तर्कहरू सुन्ने गरिन्छ। तर अहिले नेपालमा रिलिज भएका नेपाली फिल्म नेपालीहरूको बाक्लो सङ्ख्या भएका विदेशका सहरमा पनि रिलिज हुन्छन्। तै पनि फ्लप फिल्म हिटमा दरिन सकेको छैन। तर युट्युबमा रिलिज भएपछि भने त्यही फिल्मले छक्क पार्ने भ्युज पाउँछ। हलमा सुपर फ्लप भएको फिल्म युट्युबको भ्युजमा सुपर हिट हुन्छन्।

कात्तिक १२, २०८० आइतबार १७:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।