राष्ट्रसंघका महासचिव गुटरेस काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

राष्ट्रसंघका महासचिव गुटरेस काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्।

उनी राति एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए।

आज (आइतबार} राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसपछि गुटरेसले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्। भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। 

मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

कात्तिक १२, २०८० आइतबार ०७:०४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।