मुगु सामूहिक हत्या प्रकरण : श्रीदेवीका श्रीमान घर पुगेपछि पोस्टमर्टमका लागि जिल्ला अस्पताल लगियो शवहरू

मुगु सामूहिक हत्या प्रकरण :  श्रीदेवीका श्रीमान घर पुगेपछि पोस्टमर्टमका लागि जिल्ला अस्पताल लगियो शवहरू
फाइल फोटो

काठमाडौं : मुगुमा तीन छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आइपुगेका छन्।

कतारबाट शुक्रबार साँझ उडेका उनी काठमाडौंबाट नेपालगन्ज र ताल्चा विमानस्थल हुँदै शनिबार बिहान घर पुगेका हुन्।

श्रीमति श्रीदेवीसहित तीन छोराछोरी मृत भेटिएपछि उनी एक बर्ष नपुग्दै कतारबाट फर्किएका हुन्। उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए। 

श्रीमान घर पुगेपछि मुचुल्का गरेर प्रहरीले शवहरू पोस्टमर्टमका लागि मुगु सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

सदरमुकामदेखि घटना भएको मुन्दु गाउँ दुई घन्टाको दुरीमा पर्छ। शुक्रबार बिहान श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। उनीहरूको घरभित्रै शव फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरिएको खुलेको छ। दशैंको दिन श्रीदेवी तीन जना छोराछोरीसहित टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। कोटिल्लाबाट ८ गते बेलुका घर फर्किएका उनीहरूको सोही राति हत्या भएको हो।

९ गते बिहानदेखि १० गते बिहानसम्म घरबाहिरबाट ताल्चा लगाएको देखेपछि स्थानीयले ढोका फोडेर हेरेका थिए। उनीहरू मृत भेटिएपछि स्थानीयले नै प्रहरीलाई शनिबार बिहान खबर गरेका थिए। 

घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली समेत घटनास्थलमा खटाइएको छ।

प्रहरी तालिम केन्द्र नेपालगन्ज बाँकेबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको बताइएको छ।

कात्तिक ११, २०८० शनिबार २०:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।