बैतडीको पाटन विमानस्थल : उड्दैनन् ‘चिल गाडी’, ‘टिकटक’ र ‘सेल्फीस्पट’ बन्यो धावनमार्ग

बैतडीको पाटन विमानस्थल : उड्दैनन् ‘चिल गाडी’, ‘टिकटक’ र ‘सेल्फीस्पट’ बन्यो धावनमार्ग

काठमाडौं : बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ। गएको डेढ वर्षदेखि यो विमानस्थलमा जहाज (चिल गाडी) आएको छैन। 

प्रत्येक बिहीबार धनगढी-पाटन-धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै जहाज आएन।

यात्रु अभावका कारण देखाँदै उडान भर्न नसकिने समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए।  

‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो। भाडा महँगो भएकै कारण यात्रुहरू पाउन मुस्किल छ। भाडा नघट्दासम्म उडान हुने सम्भावना एकदमै न्युन छ,’उनले भने।

पाटन-धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा ३ हजार ७ सयमा हवाई उडान हुने गरेको थियो। पछिल्लो समय भने भाडा बढेर ५ हजार पुगेको थियो।  

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार-व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै  विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए। 

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई  समस्यामा हुने गरेको छ’, उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन।  नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ।’

करोडौँका संरचना प्रयोगविहीन

झण्डै डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै   १६ करोडका संरचनाहरू प्रयोगविहीन छन्। 

तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयबासीका डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संरचनाहरू प्रयोग विहीन बनेका हुन्।  

तीन वर्षअघि ११ करोड रूपैयाँ खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। 

त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ। विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीय नरेन्द्र विष्टको भनाइ छ।  

नियमित उडान नहुने र भाडा पनि महँगो भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ थियो। भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने  अर्का स्थानीय जय राज जोशीले बताए।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै  नागरिकले सेवासमेत पाउन सकेका छैनन्। 
नियमित  हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग  समन्वय भइरहेको पाटनका नगर प्रमुख गौरी सिंह रावलले बताए। 

‘टिकटक’ र ‘सेल्फीस्पट’ बन्यो धावनमार्ग

विमानस्थलमा जहाज नआउँदा दशैंको टिका लगाएर टिकटक र सेल्फि खिच्नेहरु खचाखच भरिएका थिए। विमानस्थलको धावनमार्गमा स्थानीयबासीका लागि टिकटक बनाउने थलो र ‘सेल्फीस्पट’का रुपमा परिणत भएको छ। 

उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो। साथै धावनमार्गमा घाँस उम्रिन थालेपछि गौचरको रुपमा समेत परिणत भएको छ। 

विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै  तारजालीहरु पनि समेत चुँडिन थालेका छन्। 

द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ साल यता पूर्ण रूपमा विमानस्थल बन्द थियो।

विसं२०३६ देखि २०५२ सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो।

२६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो।

राजनीतिक दलहरूले विमानस्थल सन्चालनको विषयलाई केवल चुनावी एजेन्डा मात्र बनाउँदै आएको स्थानीयबासीको आरोप छ। 

कात्तिक ११, २०८० शनिबार १९:०७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।