सुरु भयो कांग्रेसको चियापान कार्यक्रम

सुरु भयो कांग्रेसको चियापान कार्यक्रम

काठमाडौं : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत गरिरहेका छन्।

भर्खरै प्रारम्भ भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। 

दशैं तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको छ। सोही क्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन्।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।

वीपी वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ देखि चियापान सुरू गरेको हो। २०३८ सम्म वीपीले यसलाई निरन्तरता दिएका थिए।

त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन्।

कात्तिक ११, २०८० शनिबार १४:०३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।