मुगुमा आठ महिनाको बालकसहित तीन सन्तान र आमा मृत भेटिए, हत्याको आशंका

मुगुमा आठ महिनाको बालकसहित तीन सन्तान र आमा मृत भेटिए, हत्याको आशंका

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका-६ स्थित मन्दु गाउँमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्।

मृतास्थामा फेला पर्नेमा छायाँनाथ रारा-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ। हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु ल्याइएको छ।

श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ। कसले के उद्देश्यले हत्या गर्यो खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन्।

कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेका थिए। तर, सिमी टिप्न खेत गरातिर गएका होलान् भन्ने अनुमान गरेको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन्।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गरेका थिए।

तर, ८ गते माइतीबाछ फर्किएको भनेपछि छिमेकीले शुक्रबार १० बजेतिर ढोकाको ताला फोरेर घरभित्र हेर्दा चारै जनालाई मृत अवस्थामा देखेका थिए।

कात्तिक ११, २०८० शनिबार ११:४९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।