दुखाइ विशेषज्ञ डा. बिनमको उपचार अनुभव : नसा च्यापिएर थला परेका बाजे फलोअपमा ठमठम हिँडेर आएपछि...

दुखाइ विशेषज्ञ डा. बिनमको उपचार अनुभव : नसा च्यापिएर थला परेका बाजे फलोअपमा ठमठम हिँडेर आएपछि...

एनेस्थेसियोलोजिष्ट तथा दुखाइ विशेषज्ञ डा. बिनम घिमिरेले हजारौं शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँत्याएका छन्। त्यसैगरी उनले दुखाइसम्बन्धी समस्या भएका सयौं बिरामीको समस्या सञ्चो बनाएका छन्। उनै डा. बिनमले चिकित्सकीय पेशाको सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन्।

ह्विलचियरमा पुगेका ती बाजे
चितवनमा एक जना करिब ७० वर्षका बाजे घुँडा दुख्ने समस्याका कारण ह्विलचियरमा उपचारका लागि अस्पताल पुगेका थिए। ती बाजेको घुँडा नै खिइएकाले हिँडडुल गर्न सक्दैन थिए।

दुखाइका कारण बाजे थला परेका थिए। उपचारका लागि पुगेका बाजेलाई डा. बिनमले औषधि दिए, फिजियो थेरापी गराए अनि दुखाइ कम गर्ने औषधि दिए। यसरी औषधि, उपचार गरेपछि ती बाजेको घुँडाको समस्या ठिक भएको डा. बिनमले सुनाए।

उपचारपछि ती बाजे ह्विलचियर विना नै आफैँ हिँडडुल गर्न सक्ने भए। पछि फलोअपमा आउँदा बाजेको समस्या ठिक भएको उनले सुनाए। बाजे हिँडेरै फलोअपका लागि अस्पताल पुगेका थिए।

थला परेका बाजे ठमठम हिँडेर मुस्कुराउँदै अस्पताल आएपछि...
केहीवर्ष अघि ढाडको नसा च्यापिएको बिरामीको उपचार गरेको प्रसङ्ग पनि डा. बिनम कहिल्यै बिर्सँदैनन्।

पाको उमेरका ती बाजेलाई चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भन्ने सुझावदिएका रहेछन्। तर, शल्यक्रिया बाहेकको कुनै उपचारको उपाय छ कि भनेर ती बाजेलाई अस्पतालमा आफन्तले डोहोर्याएर लगेका थिए।

हुन त अहिले पनि डा. बिनम शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोसी बनाएर ब्यूँत्याउँछन् नै। आईसीयू व्यवस्थापनमा पनि खटिन्छन्। तर, अहिले भने उनी एनेस्थेसियोलोजिष्टका रूपमा मात्रै हैन बिरामीको दुखाइसम्बन्धी उपचारमा पनि त्यतिकै सक्रिय हुन्छन्।

डा. बिनमले ती बाजेको स्वास्थ्य परीक्षण गरेपछि शल्यक्रिया नगरी नै ठिक हुनसक्ने बताए। त्यसैले ति बिरामीलाई डा. बिनमले औषधि, फिजियोथेरापी र दुखाइ कम गर्नका लागि सुइको माध्यमबाट ढाडमा औषधि दिए।

नभन्दै ती बाजेको नसा च्यापिएको समस्या विना शल्यक्रिया नै औषधि उपचारले ठिक भयो। उपचारपछि फलोअपका लागि ती बाजे ठमठम हिँडेर मुस्कुराउँदै अस्पताल पुगेका थिए।

ढाडको नसा च्यापिएकी ती ७० वर्षे बज्यै
त्यसैगरी करिब ७० वर्षकी दुखाइ सम्बन्धी समस्या लिएर अस्पताल पुगेकी एक जना बज्यैको पनि ढाडको नशा च्यापिएको रहेछ। जसकारण ती बज्यै आफैँ हिँड्न सक्दैनथिन्।

अस्पताल आएपछि डा. बिनमको टिमले उपचार सुरु गर्यो। औषधि दिने, थेरापी गराउने र सुईको माध्यमबाट दुखाइ कम गर्ने औषधि दिने जस्ता उपचार विधि अपनायो टिमले।

औषधि उपचारपछि विना शल्यक्रिया ती बज्यैको नसा च्यापिएको समस्या ठिक भयो।  नसा च्यापिएको कारण दुखाइ लगायतको समस्या समाधान भएपछि बज्यै दङ्ग नपर्ने कुरै भएन।

बंगलादेशबाट एमबीबीएस
२०३८ सालमा काठमाडौंमा जन्मिएका बिनमले भीएस निकेतनबाट २०५४ मा एसएलसी गरेपछि भारत पुगेर आईएस्सी अध्ययन गरे।

सानैदेखि अध्ययनमा तीक्ष्ण उनलाई डाक्टर बन्ने रहर थियो। त्यसैले आईएस्सीपछि बिनम एमबीबीएस अध्ययनका लागि बंगलादेश पुगे र युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा सन् २००४ मा भर्ना भए।

सन् २०१० माएमबीबीएस अध्ययन पूरा भएपछि उनी डा. बिनम बनेर नेपाल फर्किए।

पाटनमा जागिर, रोजाइमा एनेस्थेसिया र दुखाइ
नेपाल फर्किएपछि डा. बिनमले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा मेडिकल अधिकृतका रूपमा जागिरे भएर काम गर्न थाले। त्यहाँ उनले करिब दुईवर्ष काम गरे।

डा. बिनमलाई थप अध्ययन त गर्नु छँदै थियो। त्यसैले उनले सन् २०१२ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहको एनेस्थेसिया विषयमा एमडी अध्ययन गर्न थाले। सन् २०१५ मा उनको तीन वर्षे एमडी अध्ययन सकियो।

एमडी अध्ययनपछि डा. बिनम पुनः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) काम गर्न फर्किए। पाटनमा उनले एनेस्थेसिया विभागमा कन्सल्टेण्टका रूपमा काम गरे।

डा. बिनम विशेषगरी ढाडमा नसा च्यापिएका बिरामीलाई विना शल्यक्रिया निको बनाउने कोशिस गर्छन्। सबै किसिमका दुखाइ विशेषज्ञले उपचार गरेर शत प्रतिशत ठिक हुन्छ नै भन्ने चाहिँ हुँदैन।

त्यहाँ उनले आईसीयू व्यवस्थापन र लेक्चररको भूमिकामा समेत काम गरे। पाटनमा करिब सात वर्ष काम गरेपछि डा. बिनम दुखाइ व्यवस्थापन (पेन मेनेजमेन्ट) सम्बन्धि अध्ययनका लागि भारतमा गए र एक वर्षे फेलोसिप गरे।

२०८० असारपछि डा. बिनम पाटनको जागिर छाडेर चितवन पुगेका छन्। चितवनमा पनि उनको घर छ। चितवनको भरतपुर अस्पताल र भरतपुरमै रहेको नेपाल पेन क्लिनिकमा पनि काम गर्छन् उनी अहिले।

दुखाइ निको पार्ने विधा
एमडी अध्ययन गरेको केही वर्ष डा. बिनमको मुख्य काम नै शल्यक्रिया गर्नुपर्ने बिरामीलाई औषधि दिएर लठ्याउने र शल्यक्रिया सफल भएपछि बिरामीलाई ब्यूँत्याउनु थियो।

तर, अहिले उनको काम त्यतिमा मात्रै सीमित छैन। आईसीयू व्यवस्थापन तथा आईसीयूमा बिरामीको उपचार गर्नु अनि बिरामीको दुखाइ व्यवस्थापन गर्नु उनको दैनिकी भएको छ।

भारतमा दुखाइ व्यवस्थापन (पेन मेनेजमेन्ट) सम्बन्धी विषयमा एक वर्षे फेलोसिप गरेर नेपाल फर्केपछि भने उनी बिरामीको दुखाइ व्यवस्थापनमा समेत केन्द्रीत हुने गरेका छन्।

हुन त अहिले पनि डा. बिनम शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोसी बनाएर ब्यूँत्याउँछन् नै। आईसीयू व्यवस्थापनमा पनि खटिन्छन्। तर, अहिले भने उनी एनेस्थेसियोलोजिष्टका रूपमा मात्रै हैन बिरामीको दुखाइसम्बन्धी उपचारमा पनि त्यतिकै सक्रिय हुन्छन्।

एनेस्थेसियोलोजिष्टका रूपमा मात्र काम गर्दा पनि उनी दुखाइ सम्बन्धी बिरामीको उपचार त गर्थे। तर, भारतबाट फेलोसिप नै गरेर आएपछि भने थप विशिष्टिकृत भएर काम गर्न थाले।

डा. बिनम विशेषगरी ढाडमा नसा च्यापिएका बिरामीलाई विना शल्यक्रिया निको बनाउने कोशिस गर्छन्। सबै किसिमका दुखाइ विशेषज्ञले उपचार गरेर शत प्रतिशत ठिक हुन्छ नै भन्ने चाहिँ हुँदैन।

तर, करिब ७० प्रतिशत दीर्घकालीन दुखाइसम्बन्धी समस्या भएका बिरामीको विनाशल्यक्रिया नै ठीक हुने डा. बिनमको अनुभव छ।

शल्यक्रिया गर्नुपर्ने किसिमका बिरामीलाई त उनी पनि शल्यक्रियाका लागि रिफर गर्छन् नै। तर, कयौं बिरामीका दुखाइ सम्बन्धी समस्या विना शल्यक्रियाको उपचारले नै ठिक हुने उनको भनाइ छ।

हुन त एनेस्थेसियोलोजिष्ट चिकित्सकको रूपमा बिरामीको तुरुन्तै दुखाइ कम गर्ने काम समेत हुन्छ। शल्यक्रिया गर्दा होस् वा कुनै घाउ लगायतको दुखाइ सम्बन्धी समस्या भएको अवस्थामा नै किन नहोस्, एनेस्थेसियोलोजिष्ट चिकित्सकले नदुख्ने औषधि नै दिने हो।

यसरी तुरुन्तै छोटो समयको दुखाइ सम्बन्धिको उपचारात्मक विधिलाई चिकित्सकीय भाषामा ‘एक्युड पेन मेनेजमेन्ट’ भनिन्छ भने लामो समयको दीर्घकालीन दुखाइ सम्बन्धिको उपचारात्मक विधिलाई ‘क्रोनिक पेन मेनेजमेन्ट’ भनिन्छ।

घाँटी तथा ढाडको नसा च्यापिएको, घुँडा खिएर दुख्ने, माइग्रेन, बाथ, क्यान्सर, चिसोको कारणले हुने दुखाइ, उमेर पाको हुँदै जाँदा व्यक्तिका शरीरका विभिन्न अंगमा दुख्ने जस्ता दीर्घकालीन किसिमका दुखाइसम्बन्धी समस्याको उपचार गर्नु डा. बिनमको दैनिकी हो।

दुखाइ सम्बन्धी दीर्घकालीन समस्याको उपचारका लागि दुखाइ व्यवस्थापन (पेन मेनेजमेन्ट)मा विशिष्टिकृत अध्ययन गरेका चिकित्सकको महत्वपूर्ण काम हुने उनी बताउँछन्। जुन विषयका विशेषज्ञ हुन् उनी।

कारण पत्ता लगाएर दुखाइको प्रकृति अनुसार उपचार विधि अपनाउँछन् उनी। दुखाइ अनुसार औषधि र फिजियो थेरापीजस्ता विधि अपनाएर लामो समयदेखि भइरहेका दुखाइको उपचार गरिने उनी बताउँछन्।

आवश्यकता अनुसार इन्टरभेन्सन तथा इन्जेक्शन दिएर समेत दुखाई कम गर्न सकिने उनको अनुभव छ।

शल्यक्रिया गर्नुपर्ने किसिमका बिरामीलाई त उनी पनि शल्यक्रियाका लागि रिफर गर्छन् नै। तर, कयौं बिरामीका दुखाइ सम्बन्धी समस्या विना शल्यक्रियाको उपचारले नै ठिक हुने उनको भनाइ छ।

११ कात्तिक, २०८०, १०:४८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।