सांस्कृतिक कार्यक्रम गर्न दूतावासले नेपालीहरूसँग माग्यो ३५ लाख

सांस्कृतिक कार्यक्रम गर्न दूतावासले नेपालीहरूसँग माग्यो ३५ लाख

काठमाडौं : दक्षिण कोरियाका लागि नेपाली दूतावासले सांस्कृति कार्यक्रम गर्न नेपाली संघसंस्थासँग ३५ लाख वन रकम मागेको छ।

बिहीबार नौ संस्थालाई पत्र काटेर दूतावासले सांस्कृतिक कार्यक्रमका लागि ३५ लाख वन आवश्यक परेकाले आर्थिक सहयोग उपलब्ध गराइदिन भनेको हो।

‘नेपाल–कोरिया कल्चरल एक्स्चेन्ज इभेन्ट २०२३’ कार्यक्रम आज अर्थात शनिबार सिओलको स्थानीय समयअनुसार दिउँसो साढे १ बजेदेखि ५ बजेसम्म हुँदैछ।

पत्रमा भनिएको छ, ‘सो कार्यक्रमका लागि लगभग ३५,००,००० (पैंतीस लाख कोरियन वन)को आवश्यकता पर्ने भएकोले त्यस संस्थाबाट सो कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गरिएको छ। साथै सहयोग गर्ने संस्थाले लोगो समेत उपलब्ध गराइदिनुहुन अनुरोध छ।’

नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउन कार्यक्रमले ठूलो भूमिका खेल्ने र आगामी वर्षका तय गरिएको नेपाल कोरिया बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रमको लागि पृष्ठपोषण उपलब्ध गराउने भन्दै दूतावासले मौलिक भेषभुषा सहित कोरियामा रहेका सबै नेपालीलाई उपस्थितिको लागि आग्रहसमेत गरेको छ।

दूतावासले शनिबार बिहानै अर्को सूचना निकालेर कार्यक्रममा नेपाल तथा कोरियाको गरेर करिब १ सय कलाकारले प्रस्तुति दिने जानकारी गराएको छ।

११ कात्तिक, २०८०, ०९:५०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।