मेलम्ची बाढीको अवशेष : बदलिँदै छ बगर बनेको बजार (तस्बिरहरू)
मेलम्ची : २०७८ असार १ गते। बर्खाको बेला भएकाले पानी परिरहेकै थियो।
साँझ ६ बजेतिर इन्द्रावती नदी अन्य समयभन्दा अलि बढेर आयो। पानी परेको बेला यसअघि पनि नदी बढिरहेकाले स्थानीयले सामान्य नै ठाने।
तर, त्यो नदी बढ्ने क्रम रोकिएन। राति ९/१० बजेसम्म पनि नदी बढेको बढ्यै भयो। मेलम्ची बजारको सहतमा नदी आएपछि स्थानीय आत्तिए अनि घर छाड्न थाले।
स्थानीय मेलम्ची नगरपालिकाले जग्गा दिएर चन्दा उठाएर निर्माण गरिएको रेडियो मेलम्चीको भवनको पहिलो तला पूरै डुब्यो। सँगै रहेका अन्य घरहरू पनि डुब्न थाले।
नदीमा आएको मुढासहितको लेदोले मेलम्ची बजारको तल्लो भेग पूरै ढाक्यो। घरको पहिलो तलामा पूरै लेदो, बालुवा र ढुंगाले पुर्यो।

मानिसहरू माथि-माथि सर्दै गए। रातभरी पानी आयो, उनीहरू जागराम नै बसे।
त्यसपछि सोही साल साउन १६ गते अर्को बाढी आयो। असार १ को बाढीपछि चनौटे बजारका घर र पसल सफा गरी बस्न थालेर बिस्तारै लयमा फर्कन लागेका स्थानीयलाई साउन १६ को बाढीले झन् थचार्यो।
बाढीले भौतिक क्षति मात्र गरेन, मानवीय क्षति पनि गर्यो। २५ जनाको मृत्यु भएको पुष्टि नगरपालिकाले गर्यो।

दुई पटक गरेर आएको बाढीले करिब साढे दुई सय परिवार प्रभावित बन्यो। बाढीले करिब ३० अर्बको क्षति भयो।
अहिले पनि मेलम्ची पुग्दा सो बाढीको भग्नावशेष देख्न सकिन्छ।
घरहरू उभिएका छन् केहीमा अझै बस्न मिल्दैनन्। पुलहरूको फलामे लठ्ठा छन् तर तर्न मिल्दैनन्। बजार बगरमा बदलिएको थियो। रौनक फर्कदै छ।

बाढीले पुल बगाएपछि अहिले नदी तर्न बेलिब्रिजको व्यवस्था गरिएको छ। ४० लाख लगानीमा नेपाली सेनाले जडान गरेको हो।
चन्द्रशमशेरको पालामा बनेको झोलुङ्गे पुलको भने अवशेष मात्र बाँकी छ।
अहिले नदी भने शान्त भएर बगेको छ यस्तो नदीले पनि यतिधेरै क्षति गर्छ र भनेजसरी!
प्रदेश सरकारको ४० करोड खर्चमा मेलम्चीदेखि तिम्बुसम्म खोला किनारमा ढुंगाको चाङ लगाइएको छ। कतैकतै तारजाली नि लगाइएको छ।







कात्तिक ११, २०८० शनिबार ०८:२३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।