एकै परिवारका चार जनाको सामूहिक हत्या,  विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी

एकै परिवारका चार जनाको सामूहिक हत्या,  विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी

सुर्खेत  : मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या गरिएको छ।

जिल्लाको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँका आमासहित दुइ छोरा र एक छोरीको सामूहिक हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार २६ वर्षीया श्रीदेवि बोहरा, उनका ११ वर्षिय छोरा मनोज, एक वर्षीय छोरा रहर र सात वर्षीया छोरी अप्सराको धारिलो हतियार प्रहार गरि सामूहिक हत्या गरिएको हो।

मंगलबार दशैंको दिन परिवारसहित सोही वडाको कोल्टी गाउँमा पर्ने माइतबाट टिका लगाएर श्रीदेविको परिवार घर फर्किएको थियो।

उक्त हत्याबारे शुक्रबार मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

‘श्रीदेवी बोहोरासहित उनका छोरा र छोरी ७ गते बिहान दशैंको टीका थाप्न माइत गएका रहेछन्। ८ गते बेलुका घर फर्किएकी श्रीदेवीको परिवारले कतारमा रहेका आफ्ना श्रमानसँग कुरा समेत गरेकी रहिछन्, डिएसपी थापाले भने, सोही रात उनीहरुको हत्या भएको रहेछ। १० गतेसम्म ढोका नखुल्दा गाउँलेले ताला खोलेर हेर्दा हत्या भएको रहेछ। शुक्रवार बिहान ११ बजे खबर पाउनासाथ घटनास्थलमा गएर अनुसन्धान गरिरहेका छौं। तर, अहिलेसम्म केही क्लयु फेला परेको छैन।’

घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको डिएसपी थापाले बताए। श्रीदेवि बोहराका श्रीमान दिपक बोहरा हाल रोजगारीको शिलशिलामा कतारमा रहेका छन्। 

डिएसपी थापाका अनुसार यो घटना सुने लगत्तै उनी पनि कतारबाट नेपाल फर्कदै छन्। थापाका अनुसार ९ गते बिहानैदेखि घरमा ताला लगाएको देखेपछि छिमेकिहरुले बिहानै सिमि टिप्न खेततिर गएका होलान सोचेका थिए।

१० गते पनि ताला लागेपछि छिमेकीले घरको ताला फोडेपछि मात्र घटनाबारे थाहा भएकाे थियाे। 

विस्तृत अनुसन्धानबाट केही दिनमा हत्यारा पत्ता लगाइ सार्वजनिक गर्ने डिएसपी थापाको दाबी छ। घटनाबारे थप अनुसन्धान गर्न नेपालगञ्जबाट तालिमप्राप्त कुकुर ल्याउन लागिएको उनले बताए। 

कात्तिक १०, २०८० शुक्रबार २०:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।