युएईविरुद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन
काठमाडौं : त्रि-देशीय टी-२० क्रिकेट सिरिजको फाइनल खेलमा युएईविरुद्ध नेपालले एक परिवर्तन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले टोलीमा एक परिवर्तन गरेको हो।
टोलीले अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाउने निर्णय लिएको हो।
ललितलाई यसअघि समूह चरणको अन्तिम खेलमा विश्राम दिइएको थियो।
युएईविरुद्ध पछिल्लो समय ललितको प्रदर्शन राम्रो छ। सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनर हुन्।
युएईविरुद्ध नेपालबाट कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशीले खेल्नेछन्।
नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।
उता युएई भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटको आधारमा फाइनल पुगेको हो। दुवै टोलीको समान २ अंक थियो।
उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ। युएई नेपाललाई फाइनलमा हराएर हारको बदला लिने सोचमा हुनेछ।
कात्तिक १०, २०८० शुक्रबार १०:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।