नुवाकोटमा भएकाे बस दुर्घटनाका पीडित र पीडकबीच मध्यरातमा सहमति

नुवाकोटमा भएकाे बस दुर्घटनाका पीडित र पीडकबीच मध्यरातमा सहमति

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिंहघाटमा बिहीबार भएको दुर्घटनापछि मध्यरातमा पीडित र पीडक पक्षबीच सहमति भएको छ।

उनीहरूबीच राति साढे १२ बजे पीडितलाई नियम अनुसारको क्षतिपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सहमतिपछि घटनास्थलबाट बस र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो।

बिहीबार त्रिशुलीबाट काठमाडाैं जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको बसले तारुकाबाट विदुर आउँदै गरेको बा प्र.०३-००४ प ९२१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक बुधसिंहघाट बस्ने २३ वर्षीय अर्जुन अधिकारी र पछाडि सवार उनकी आमा ५० वर्षीया सावित्रा अधिकारी दुवै गम्मीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाएकोमा दिउँसाे पौने १ बजे उपचारको क्रममा आमा सावित्राको मृत्यु भएको थियो।

छोरा अर्जुनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको थियो। त्यसपछि स्थानीय ५०/६० जना भेला भएर अवरोध गरेको बाटो प्रहरीले सवा पाँच बजे सुचारू गराएको थियो।

घटनास्थलमा रहेको बस मृतकको श्रीमान् काठमाडौं पुगेर छोराको अवस्था हेरेपछि मात्र बस लान दिने/नदिने जानकारी हुने शर्तमा बाटो खुलेको थियो।

कात्तिक १०, २०८० शुक्रबार १०:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।