पूर्वी सिरियाका दुई स्थानमा अमेरिकी सेनाको आक्रमण

पूर्वी सिरियाका दुई स्थानमा अमेरिकी सेनाको आक्रमण

एजेन्सी : अमेरिकाले पूर्वी सिरियाका दुई स्थानमा सैन्य आक्रमण गरेको छ।

इरानी सैन्य बल र यससँग सम्बन्धित समूहले प्रयोग गरिरहेको दुई स्थानमा आफूहरूले आक्रमण गरेको अमेरिकी रक्षा सचिव लोयड अस्टिनले जानकारी दिए।

अमेरिकाले आक्रमण गरेको  स्थानमा इरानी सेनाले प्रयोग गर्ने गाेलबारुद र हतियारको भण्डारण रहेको समेत बताइएको छ।

उनका अनुसार इराक र सिरियामा अमेरिकी सेनाको सुरक्षार्थ र इरान समर्थित मिलिशिया समूहहरूले हालैका आक्रमणहरूको जवाफमा आक्रमण गरिएको हो।

उनले भने- ‘अमेरिकी सेनामाथि भएको इरानी समर्थित आक्रमणहरू सहने छैनाैँ। इरानले यी आक्रमणहरूको पछाडि आफ्नो हात रहेको तथ्य लुकाउन चाहन्छ र हाम्रा सेनाहरू विरुद्ध यी आक्रमणहरूमा आफ्नो भूमिकालाई अस्वीकार गरिरहेको छ।’

अस्टिनले अमेरिकी आक्रमणहरू इजरायल र हमासबीच चलिरहेको द्वन्द्वबाट अलग भएको समेत स्पष्ट पारेका छन्।

यसअघि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले प्रेस ब्रिफिङमा इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई प्रत्यक्ष सन्देश पठाइएको बताएका थिए।

पेन्टागनका अनुसार पछिल्लो एक हप्तामा इराकमा कम्तीमा १२ पटक र सिरियामा ४ पटक अमेरिकी सैनिकमाथि आक्रमण भएको छ।

कात्तिक १०, २०८० शुक्रबार ०९:४४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।