श्रीलंकासँग ८ विकेटले हार्दा इंग्ल्याण्डको सेमिफाइनल यात्रा कठिन

श्रीलंकासँग ८ विकेटले हार्दा इंग्ल्याण्डको सेमिफाइनल यात्रा कठिन

एजेन्सी– इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। आइसिसी विश्वकप २०२३ को खेलमा साबिक विजेता इंग्ल्यान्ड पराजित भएको हो।

इंग्ल्यान्डले श्रीलंकालाई १ सय ५७ रनको लक्ष्य दिएको थियो। श्रीलंकाले सो लक्ष्य २५.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।

श्रीलंकाका पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे भने सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहेका थिए।

तेस्रो विकेटका लागि सदिरा र निसांकाले १ सय ३७ रनको सानदार शतकीय साझेदारी गरेको खेलमा ओपनर कुशल परेरा ४ र कप्तान कुशल मेन्डिस ११ रनमा आउट भए।

इंग्ल्यान्डका डेविड विल्लीले ५ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए। टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो। इंग्ल्यान्डका बेन स्टोक्सले ७३ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाएका थिए।

इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ६.३ ओभरमा ४५ रन जोडेका थिए। मलानले २५ बलमा ६ चौकासहित २८ रन बनाए। मलानको विकेटपछि इंग्ल्यान्डले लगातार विकेट गुमायो।

श्रीलंकाका तीव्र गतिका बलर लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिएका थिए। एन्जिलो म्याथ्युजले ५ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए भने कसुन रजिथाले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए।

सेमिफाइनल यात्रा कठिन

इंग्ल्याण्ड सुरुवाती पाँच मध्य चार खेलमा पराजित भइसकेको छ। सेमिफाइनलका लागि इंग्ल्यान्डको अङ्क गणितीय सम्भावना मात्रै बाँकी छ।

इंग्ल्यान्ड ५ खेलमध्ये १ खेल मात्र जितेको छ। इंग्ल्याण्ड २ अंकका साथ नवौँ स्थानमा छ। श्रीलंकाले ५ खेलमध्ये २ वटा जितेको छ। श्रीलङ्का ४ अंकका साथ पाँचौँ स्थानमा छ।

इंग्ल्यान्डको आगामी खेल भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग छ। सेमिफाइनलमा पुग्न इंग्ल्यान्डले बाँकी सबै खेलमा जित्नुपर्ने दबाबमा छ।

प्रतियोगितामा भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ। दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अङ्क पाएर दोस्रो स्थानमा छ। न्युजिल्यान्ड ८ अङ्क भए पनि नेटरनरेटका कारण

तेस्रो स्थानमा छ। अस्ट्रेलिया ६ अंकका साथ चौथो स्थानमा छ भने पाकिस्तान ५ खेलमा ४ अंकका साथ छैटौँ स्थानमा छ।

कात्तिक ९, २०८० बिहीबार २०:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।