भष्मे डनका निर्माता खगेन्द्रको बुस्टपोस्टमा दर्शकले लेखे' मेरो पैसा नै भष्म बनाइदियो'

भष्मे डनका निर्माता खगेन्द्रको बुस्टपोस्टमा दर्शकले लेखे' मेरो पैसा नै भष्म बनाइदियो'

काठमाडौँ : अहिले अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने फिल्म पशुपतिप्रसाद : २  भष्मे डनको सकारात्मक समीक्षा सामाजिक सञ्जालमा सेयर गर्न व्यस्त छन्। उनको फेसबुक अकाउन्ट हेर्ने हो भने अहिले भष्मे डन फिल्मको सकारात्मक समीक्षा र टिप्पणीले भरिएका छन्।

उनले प्रशंसा गरेका समीक्षाहरू फेसबुक पेजमा सेयर गर्दै स्पोन्सर्ड गरेका छन्। उनको एड सेन्टरको विवरण अनुसार नयाँ पत्रिका, अनलाइन खबर, हाम्रो सिनेमा, मेरो फिल्मको समीक्षा बुस्ट गराएका छन्। दर्शकहरूको सकारात्मक प्रतिक्रियाको भिडियो समेत उनले बुस्ट गराएका छन्।

बुस्ट सामाग्रीमा दर्शकहरूबाट आएका प्रतिक्रियाहरू न समीक्षा जस्तो सकारात्मक छ न खगेन्द्रले गरिरहेको दाबी जस्तो नै।

मन पर्यो भन्ने प्रतिक्रिया नै नआएको भने हैन। तर अधिकांश प्रतिक्रियामा दर्शकले ठगिएको महसुस भएको लेखेका छन्।

उनले बुधवार नयाँ पत्रिका अनलाइनमा प्रकाशित ब्लग दर्शक तथा समीक्षकको माया पाउँदै आज पनि हाउस फुल 'पशुपति प्रसाद २ : भष्मे डन' भन्दै लिङ्क सेयर गरेर बुस्ट गराएका छन्।

पोस्टको तल बिहीबार दिउससम्म आएका ४८ प्रतिक्रियामध्ये अधिकांश सकारात्मक छैनन्। केही रोचक प्रतिक्रिया समेत भेटिए।

लामिछानेले आफ्नो पेजबाट बुस्ट गराएको तीन सामाग्री।

आकाश श्रेष्ठले पशुपतिप्रसाद ३ को कथा आफूले लेख्ने भन्दै खगेन्द्रलाई पटकथा लेख्न सुझाव दिएका छन्।

सुस्मिता खतिवडाले पशुपतिप्रसादले १०० मा सय अङ्क पाएको तर भष्मे डनले सयमा २० अङ्क मात्र पायो भन्दै पैसा खेर गएको अनुभव भएको प्रतिक्रिया लेखेकी छिन्।

राजीव तुलाचनले फिल्म भष्मे डन बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई दाउरा भएको प्रतिक्रिया लेखेका छन्।

पूजा शर्माले लेखिन्' पैसा नै भष्म बनाइदियो।'

समर श्रेष्ठले लेखेका छन्' तपाईँलाई पटक पटक भनेको सर दोस्रो सिक्वेल नबनाउनु भनेर।'

रमेशमान तुलाधरले लेखे' भष्मे फिल्म हेरेर मेरो पैसा नै भष्म बनाइदियो।'

अनलाइनखवरको समीक्षा सेयर गरेर बुस्ट गरिएको पोस्टमा ८८ वटा कमेन्ट छन्। पत्रकार दीपक सापकोटाले बधाई दिएका छन्।  गणेश कुँवरले गजब भनेर लेखेका छन्।

बुस्ट गरिएका पोस्टमा आएका प्रतिक्रिया। खड्काले लेखेका छन्' हावा फिल्म, खेल खत्तम, पैसो हजम। झुर।' सरोज जम्मरकट्टेलले लेखेका छन्' तपाइले लास्टमा खेलेको भूमिका गुड।'

बबिता खनालले लेखेकी छिन्' दर्शक झुक्याउनलाई यस्तो फिल्म चाहिँ अब नबनोस्, झुर अनि वाहियात।'

देवेन्द्र श्रेष्ठले लेखेका छन्' मलाइ मेरो पैसा फिर्ता चाहियो। अपेक्षा गरेको १०% नि हेर्न पाइएन खगेन्द्र जी ,पैसा कमाउने लोभमा पार्ट ३ राखिएको महसुस भयो।'

उनले सेयर गरेको फिल्मीफन्डाको लिङ्कमा प्रदीप घिमिरेले लेखेका छन्' अभिनय भन्दा अन्य कतै राम्रो भन्ने केही छैन। मिल्ने भए टिकटको पैसा फिर्ता माग्ने थिए। पैसा कमाउने मेसो मात्र गरे टिमले, सायद यसैले अर्को भागको लागि कथा खुल्ला राखेका छन्।'

रमेश पराजुली राजनले पार्ट तीन बनाउन खोज्दा पुरै फिल्म बिग्रिएको लेखेका छन्।

दिवेश पाठकले भने यो फिल्मलाई ओस्कर अवार्ड दिन सुझाव दिएका छन्।

राममणि न्यौपानेले लेखेका छन्' टु बी अनेस्ट, प्रत्येक पात्र र संवाद अलग गरेर हेर्दा राम्रो छ। तर सम्पूर्ण फिल्म हेर्दा मजा आएन। लेखकले कथा लेख्दा धेरै सङ्घर्ष गरेर कथा विकास गरेको जस्तो अनुभव भयो। मेरो सिनेमाको स्वाद बदलियो कि फिल्म नै फितलो भयो म आफैले नै बुझिन। एनी वे शुभकामना टिम।'

सविन-सविनले लेखेका छन्' स्पोन्सर्ड गरेपछि फिल्म चल्छ भनेर आफ्नो फिल्मको बारेमा राम्रो लेखेको पोस्ट बुस्ट गरेको होला। तर यो दिन पनि  देख्नुपर्यो। फिल्म चलाउन बुस्ट।'

कात्तिक ९, २०८० बिहीबार १८:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।