टर्कीको राष्ट्रपतिको अभिव्यक्तिले इजरायल झस्कियो

टर्कीको राष्ट्रपतिको अभिव्यक्तिले इजरायल झस्कियो

एजेन्सी : हमास र इजरायलबीच जारी द्धन्द्ध मा टर्कीका राष्ट्रपति रेचेप तैयप हमासको पक्षमा उभिएका छन्। हमासलाई कारण देखाउँदै इजरायलले गाजा शहरमा अन्धाधुन्ध हवाई आक्रमण गर्दा बालबालिकाहरू समेत उल्लेख्य सङ्ख्यामा मारिएका छन्। तर अमेरिका, युरोप लगायतका देशहरू उसकै पक्षमा उभिएका छन्।

टर्कीका राष्ट्रपतिले भने इजरायलको मानवता विरोध गतिविधिको निन्दा गर्दै हमासको पक्षमा उभिएका छन्। अर्दोआनले टर्कीको संसदमा आफ्नो जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै इजरायलले जानाजान गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण गरिरहेको र आक्रमणमा परेर बालबालिका, महिला र वृद्धहरू मारिएको भन्दै निन्दा गरे।

उनले इजरायलको गतिविधिले उसले गरिरहेको हमला आत्मरक्षाका लागि नभएको पुष्टि भएको र यो मानवताको विरुद्धमा खुलेआम अपराध भएको बताए।

उनले हमास कुनै आतङ्कवादी सङ्गठन नभएको र आफ्नो स्वतन्त्रता र जमिनका लागि लडिरहेको समूह भएको भन्दै प्रशंसा गरे।

उनले इजरायल होस् या प्यालेस्टिनी जसले सर्वसाधारणमाथि आक्रमण गर्छन् टर्की उनीहरूको विपक्षमा रहेको प्रतिक्रिया दिएका थिए।

उनको प्रतिक्रिया सार्वजनिक भएसँगै इजरायलले उनको भनाइको निन्दा गर्दै हमास घृणित आतङ्कवादी सङ्गठन भएको र टर्कीको राष्ट्रपतिले हमासबारे दिएको अभिव्यक्तिको खण्डन गर्ने प्रतिक्रिया सार्वजनिक गरेको थियो।

इजरायलले हमासले बालबालिका, महिला र बृद्धाहरूको हत्या गर्ने र अपहरण गरेर आफ्नो सुरक्षाका लागि उपयोग गर्ने गरेको दाबी गर्दै इजरायलले टर्कीको राष्ट्रपतिले हमासबारे दिएको अभिव्यक्तिको आधारमा विश्वका अन्य देशले हमासलाई हेर्ने दृष्टिकोण नबदल्ने प्रतिक्रिया सार्वजनिक गरेको छ।

टर्की इजरायललाई सबैभन्दा पहिला मान्यता दिने देश हो। अहिले जारी रहेको द्वन्द्वमा उसको अभिव्यक्तिले इजरायल दवाबमा पर्ने उसले दिएकै अभिव्यक्तिबाट प्रस्ट हुन्छ।

यस अगाडि कतारले इजरायलको गतिविधि अब सहन नसक्ने प्रतिक्रिया दिएको थियो।

कात्तिक ९, २०८० बिहीबार १५:५०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।