आरती घटना अदालतमा विचाराधीन, तर दशैँमा पनि परिवार धर्नामै

आरती घटना अदालतमा विचाराधीन, तर दशैँमा पनि परिवार धर्नामै
सबै तस्बिर : नेपालन्युजबैंक

काठमाडौँ : घरमा परिवारका सदस्य र पाहुना बसेर गच्छे अनुसार मिठो मसिनो खाने पर्व दशैँमा पनि धनुषा नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार काठमाडौँको माइतीघरमा छन्।

कसैले खाना दिए खान्छन्। नत्र भोकै भए पनि छोरी आरती साहलाई न्याय दे भन्दै सडकमा बस्छन्। दशैँमा पनि उनीहरूले धर्ना छाडेनन्। १ सय ३३ दिन भयो उनीहरू यसरी धर्ना बस्न थालेको।

यो बीचमा धेरै चाडहरू आए तर उनीहरूले धर्नास्थल छाडेनन्। दशैँ सडकमै बित्यो। न्याय पाए तिहार र छठ घरमा मनाउन चाहन्छन् उनीहरू। नभए ती दुवै पर्व पनि सडकमै बित्नेछ।

उनीहरूले निरन्तर आरतीको हत्याको पुन छानबिनको माग गरिरहेका छन्।

घटना के हो?

२२ वर्षीया आरतीको २२ महिना अघि मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो।

गत जेठ ७ गते आरतीलाई उनको परिवारले जनकपुर अस्पताल लग्यो। आरतीको स्वास्थ्य अवस्था खराब छ भनेर माइतीलाई बोलाए। माइतीपक्ष अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो।

उनले आत्महत्या गरेको परिवारले दाबी गरे। तर माइतीपक्षले मृतकका श्रीमान् मोतीबाबु साह, सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको दाबी गरेर माइतीघरमा आएर धर्नामा बसे।

प्रहरीले दुई समितिमार्फत घटनाको छानबिन गराए पनि प्रतिवेदन सार्वजनिक गरेन। धर्ना जारी भएपछि प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्यो। यो तेस्रो समिति थियो। तर उसले पनि प्रतिवेदन सार्वजनिक गरेको छैन।

आरती मृत्यु घटना कसरी रहस्यमय ?

आरतीको परिवारपक्षले उनले आत्महत्या गरेको दाबी गरेता पनि परिवारले पत्याएको छैन। पहिलो त आरतीको शव उनको परिवारबाहेक अन्यले झुन्डिएको अवस्थामा फेला पारेका हैनन्।

परिवारले अस्पताल पुर्याएका थिए र अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। आरतीले आत्महत्या गरेको भनेको कोठामा सल झुन्डिएको अवस्थामा फेला परेको भने थियो।

उनको घाँटीमा डाम देखियो तर शरीरका अन्य भागमा समेत चोट पटक लागेको थियो। त्यो चोटले समेत घटनालाई रहस्यमय बनायो।

अर्कोतिर नेपाल मेडिकल काउन्सिलले आरतीको पोस्टमार्टम रिपोर्ट  त्रुटिपूर्ण देखिएको भन्दै पोस्टमार्टममा संलग्न चिकित्सक अवधेशकान्त झा, दिग्विजय ठाकुर र जितेन्द्रकुमार साहलाई सचेत गरायो।

पोस्टमार्टम रिपोर्टमा मृत्युको सम्भावित कारण आत्महत्या लेखिएको थियो।  चिकित्सकले मृत्यु कारणमा आत्महत्या वा हत्या नभनी चिकित्सकीय कारण उल्लेख गर्ने गरे पनि उनीहरूले भने हत्या कि आत्महत्या भन्नेतिर केन्द्रित देखिएका थिए। यसले आरतीको मृत्युको कारण थप रहस्यमय बन्यो।

प्रारम्भमा आरतीको माइतीपक्षले घरका सदस्यविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले लिन मानेन। यसले पनि शङ्का बढाउने काम गर्यो।

पछि सरकारी वकिलको कार्यालयले मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुँडीविरुद्ध ज्यान सम्बन्धी मुद्दा दायर गर्यो। जिल्ला अदालतले दुबैलाई पुर्पक्षका लागि थुनामा पठायो। तर उच्च अदालत जनकपुरले दुवै जनालाई साधारण तारेखमा रिहा गर्यो।

ज्यान मुद्दा चल्यो तर धर्ना सकिएन

प्रारम्भमा जाहेरी लिन नमानेको प्रहरीले पछि जाहेरी लिएर अनुसन्धान गर्यो। जिल्ला अदालतमा मुद्दा दर्ताहुँदा आत्महत्या दुरुत्साहन हैन ज्यान सम्बन्धी कसुर लगाइयो। जिल्ला अदालतबाट सो घटनाबारे फैसला भइसकेको छैन। उच्च अदालतले पनि जिल्लाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्ट्याएको हो। तर आरतीको परिवार अदालती प्रक्रियाप्रति समेत विश्वस्त छैनन्।

आरतीको माइतीपक्ष अझै घटनामा संलग्नहरू कारबाहीको दायरामा आएको स्विकार्न तयार छैनन्। हत्यामा संलग्नहरू खुलेआम हिँडिरहेको भन्दै उनीहरूले घटनाको पुन अनुसन्धान र पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोगको माग गरिरहेका छन्।

उनीहरूले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै प्रहरी कर्मचारीमाथि कारबाहीको माग समेत राखेका छन्।

कात्तिक ९, २०८० बिहीबार १३:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।