भारत र पाकिस्तानलाई हराउने माइन्डसेटले एसिया कप खेल्छौँ : कप्तान देव खनाल
काठमाडौं : १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीको कप्तान देव खनालले भारत र पाकिस्तानलाई हराउने माइन्डसेटले एसिया कप खेल्ने बताएका छन्।
मलेसियामा भएको एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कप्तान खनालले आफूहरू भारत र पाकिस्तानलाई हराउने माइन्डसेटले एसिया कप खेल्न जाने बताएका हुन्।
‘भारत र पाकिस्तान भनेको वर्ल्डकै उत्कृष्ट टिम भए,’ उनले भने, ‘उनीहरूलाई हराउने माइन्ड सेटले हामी जानेछौँ, त्यहाँ गएर बेस्ट क्रिकेट खेल्ने हो, विश्वकपको तयारीको रूपमा हामीले लिएका छौँ।’
नेपाल क्रिकेट संघ र प्रशिक्षकहरूको योजनाअनुसार आफूहरूले क्रिकेट खेल्ने र प्रशिक्षणमा जाने उनले बताए।
‘यसपछिका प्रशिक्षकहरूको सन्दर्भमा क्यान र कोचहरूले योजना बनाउनुहुन्छ,’ उनले भने, ‘त्यहिअनुसार प्रशिक्षण गर्ने तयारीमा छौँ।’
राष्ट्रिय टोलीमा पुनरागमनको विषयमा कप्तान खनालले बोले।
उनले थपे, ‘मेरो काम पर्फम गर्ने हो। सिनियर टिमबाट खेल्ने सपना त सबैको भइहाल्छ। सिनियर टिमलाई शतक हानेर जिताउने सपना छ। आफ्नो मेहनत त गरिराको छु। अवसरको पर्खाइमा छु।’
कात्तिक ९, २०८० बिहीबार ०७:५८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।