भष्मेडनको शो खोस्दै परदेशी-२, दोस्रो हप्ता पुग्दा विपिनमाथि प्रकाश सपुत हावी
काठमाडौँ : निर्माणपक्षले दाबी गरेजस्तो पशुपति प्रसाद : २ भष्मे डन कसिलो र बलियो फिल्म नभएपछि त्यसको फाइदा परदेशी-२ ले पाएको छ।परदेशी २ पनि खासै कसिलो फिल्म त हैन। तर भष्मे डन टिमले फिल्मबारे गरेको दाबी फिल्म रिलिज भएसँगै फुस्सा भएपछि त्यसको फाइदा परदेशी-२ लाई भयो।
भष्मेडन टिमले छक्कापञ्जा-४ को रेकर्ड ब्रेक गर्ने दाबी अनुसार पशुपतिप्रसाद बराबर मात्रै ढङ्ग मिलेको फिल्म बनेको भए दोस्रो हप्ता सकिनै लाग्दा अधिकांश हलबाट परदेशी-२ उत्रिने तरखरमा पुग्न सक्थ्यो।
तर कमजोर संरचना र अलमलिएको कथानकका कारण भष्मेडन कमजोर फिल्म देखियो। जस कारण रिलिज भएको दोस्रो हप्ता कट्न लाग्दा पनि परदेशी-२ ले हलहरूमा राम्रो सोहरू पाइरहेकै छ।
भष्मे डन टिम बेनामे सकारात्मक समीक्षा प्रकाशित गराउँदै बुस्ट गराएर भएर पनि अझैँ दर्शकलाई कन्फ्युज गराउने प्रयासमा सक्रिय नै देखिन्छ।
तर अनावश्यक ट्विस्ट एन्ड टर्न समेटेको भष्मे डनले सामाजिक सञ्जालमा 'जँड्याहाको हिँडाइमा देखिने ट्विस्ट एन्ड टर्न जस्तै फिल्म'को उपमा पाइसकेको छ।
पहिलो दिन तीन सय शो पाएको फिल्मका सोहरू खुम्चँदै गएको छ। दसैँमा जुन समयमा रिलिज भए पनि फिल्मको सोहरूले पिक अप लिने टिकापछि नै हो। तर भष्मे डनको सोहरू टिकाको दिनपछि घट्दै गएको देखिन्छ। जति सोहरू पाएको छ हलमा दर्शकको अकुपेन्सी समेत खस्कँदै गएको देखिन्छ।
यी दुई नेपाली फिल्मसँगै हलमा दक्षिण भारतीय फिल्म लियो अनि टाइगर श्रफ अभिनित फिल्म गणपथ पनि रिलिज भएको थियो। तर यी दुवै जम्न सकेनन्।
परदेशी २ दोस्रो हप्तामा पुग्दा हलमा टिक्दै भष्मे डनको शो सङ्ख्या समेत खोसिरहेको देखियो। असोज २६ गते शुक्रवार परदेशी-२ रिलिज भएको थियो। भष्मे डन फूलपातीको दिन।
भष्मे डन पशुपतिप्रसादको सिक्वेल हो भने परदेशी २ फिल्म परदेशीको सिक्वेल। भष्मे पशुपति क्षेत्र केन्द्रित पशुपतिप्रसादको एक पात्र केन्द्रित फिल्म हो। परदेशी २ बिदेसिन बाध्य पुस्ताको कथा।
भष्मे डन पुरै भड्किएको फिल्म हो। परदेशी २ पनि कमजोर संरचना भएको फिल्म हो। भष्मे डनमा रहेका विपिन कार्कीले दर्शक हलसम्म तानिरहेको देखिन्छ। उता परदेशी-२ हेर्न गएका दर्शक विदेशमा रहेका आफन्त सम्झेर भक्कानिएको दृश्य देखेर दर्शक हलसम्म आइरहेका छन्। परदेशी २ को मुख्य कालाकारमा प्रकाश सपुत छन्।
घट्दै छ भष्मेको शो सङ्ख्या
भष्मे डनका वितरकले नै रिलिजको दिन तीन सय शोज्हरु पाएको दाबी गरेका थिए। भष्मे डनपछि बलियो फिल्म रिलिज भएको छैन। नेपालमा करिब पाँच सय शो एकै दिन चल्ने भएकाले दर्शकले मन पराएको भए भष्मे डनको शोसंख्या तीन सयबाट बढ्नुपर्ने हो तर घटीरहेको देखिन्छ।
काठमाडौँमा क्युएफएक्स चेनकै शो सङ्ख्या हेर्ने भो भने पनि परदेशी २ ले भष्मेको सङ्ख्यामा अझैँ आधा सोजहरू पाइरहेको देखियो। क्युएफएक्स चेनमा भएका काठमाडौँका हलहरूमा भष्मेले बिहीबारका लागि २४ शोज पाएको छ। परदेशी २ ले ११ शोज पाएको छ।
बिर्तामोडमा भष्मे डनले चार शो पाउँदा परदेशी २ ले एक शो पाएको छ। विराटनगरमा भष्मे डनको चार शो छ बिहीबार। विराटनगरको क्युएफएक्स चेनमा परदेशी २ उत्रिसक्यो। बुटवलमा भष्मेको भन्दा परदेशीको शोसंख्या बढी छ। भष्मेले बिहीबार तीन शो पाउँदा परदेशी २ ले चार शो पाएको छ।
नारायणगढमा भष्मेडनले पाँच शो पाएको छ भने। परदेशी २ ले चार शो पाएको छ। नेपालगन्जमा भष्मे डनको तीन शो छ भने परदेशी २ को तीन शो छ। दमौलीमा भष्मे डनले २ शो पाउँदा परदेशीले तीन शो पाएको छ।
इटहरीमा भष्मेडनको पाँच शो छ। परदेशी-२ ले एक शो मात्र पाएको छ। यो भयो क्युएफएक्सको शो सङ्ख्या।
एफक्युवमा भष्मे डनले ६ शो पाएको छ। परदेशी २ ले चार शो पाएको छ। वान सिनेमाज्मा भष्मेले १२ वटा शो पाउँदा दोस्रो हप्ता प्रदर्शन भइरहेको परदेशी २ ले चार शो पाएको छ। परदेशी २ टिमको दाबी पत्याउने हो भने शो सङ्ख्यासँगै दर्शकको अकुपेन्सी पनि राम्रो छ।
कात्तिक ८, २०८० बुधबार २२:२०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।