आफ्ना नागरिकहरूका लागि मध्यपूर्वमा सेना र विमान पठाउँदै अस्ट्रेलिया

आफ्ना नागरिकहरूका लागि मध्यपूर्वमा सेना र विमान पठाउँदै अस्ट्रेलिया
तस्बिर : एजेन्सी

एजेन्सी : मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ।

रक्षा मन्त्री रिचर्ड माल्र्सले ‘ठूलो संख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य संख्याबारे जानकारी दिएनन्। दुई वटा सी-१३०जे हरकुलस विमान तैनाथ गरिएको उनले जानकारी दिए।

उपप्रधानमन्त्री समेत रहेका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएनन्। विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी-१७ए ग्लोबमास्टर यातायात विमान र केसी-३० एयर रिफ्युलर थप्ने बताइएको छ।

'मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो', उनले भने।

इजराइल-हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो। युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन्।

अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ।

रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए। उनले बताए अनुसार तिनीहरूलाई छोड्न भनिएको छ।

मध्यपूर्वमा अस्ट्रेलियाको सैन्य उपस्थितिको एउटा लामो इतिहास छ। अस्ट्रेलियाली सेनाले इराक र सिरियामा इस्लामिक स्टेट समूहसँग लड्ने संयुक्त कार्यबलमा सैनिकहरूलाई योगदान दिने गरेको छ।

उक्त कार्यबलले इराकी सुरक्षा फौजलाई प्रशिक्षण दिँदै आएको छ।

कात्तिक ८, २०८० बुधबार १४:३३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।