घट्यो दशैँका लागि ल्याइएका खसी च्याङ्ग्राको मूल्य

घट्यो दशैँका लागि ल्याइएका खसी च्याङ्ग्राको मूल्य

काठमाडौं : काठमाडौंमा दशैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन्। 

दशैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भिड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन्।

दशैँको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन्। दशैँको लागि मुस्ताङ हुदैँ ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा दुई सय ५० रुपैयाँ घटाएको बताइएको छ। 

यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार एक सय रुपैयाँमा बिक्री गरेको व्यापारी रुपेस खड्काले बताए।

बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो नौ सय रुपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एघार सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए।

यसवर्षको दशैंका लागि यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन।

कात्तिक ८, २०८० बुधबार १३:५७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।