मूर्ति विसर्जनका क्रममा दानव खोलमा बेपत्ता भएका सन्तकुमारको खोजी जारी

मूर्ति विसर्जनका क्रममा दानव खोलमा बेपत्ता भएका सन्तकुमारको खोजी जारी
सांकेतिक तस्बिर

काठमाडौं : रूपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका सन्तकुमार राजभरको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो। 

जिल्लाको कोटहीमाई गाउँपालिका-१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन्। 

सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

कोटहीमाई गाउपालिका-१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुईजनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए। उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ। 

खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका छन्। मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवान हुन्। 

कात्तिक ८, २०८० बुधबार १३:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।