गाजामा आक्रमण रोक्न इजरायलमा बढ्दो अन्तर्राष्ट्रिय दबाब

गाजामा आक्रमण रोक्न इजरायलमा बढ्दो अन्तर्राष्ट्रिय दबाब

एजेन्सी : गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ।

गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ भने त्यहाँका मानिसहरू निकै कठिन परिस्थितिमा बाँच्न बाध्य छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्।

अष्ट्रेलियाका विदेश मन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको कसरी प्रयोग गर्छ भन्ने कुरा महत्वपूर्ण भएको बताएका छन्।

गाजामा मानवीय संकटबारे चिन्ता बढ्दै गएको छ। इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन्।

मंगलबार मात्रै राहत सामग्रीले भरिएका आठ ट्रक इजिप्ट हुँदै गाजा प्रवेश गर्न सकेको थियो। यद्यपि राहत एजेन्सीहरूले आवश्यकताको तुलनामा यो केही पनि नभएको बताए।

संयुक्त राष्ट्र संघका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति नगरे बुधबारदेखि काम गर्न नसक्ने बताएका छन्।

इजरायलले गाजामा इन्धन आपूर्ति बन्द गरेको छ। इजरायलले गाजामा इन्धन गयो भने हमाससम्म पुग्ने बताएको छ।

अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन्। यद्यपि यी देशहरूले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन्।

कात्तिक ८, २०८० बुधबार ०९:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।