सोलुखुम्बुको दुर्घटनामा परेर घाइते भएका मनाङ एयरको पाइलटको मृत्यु

सोलुखुम्बुको दुर्घटनामा परेर घाइते भएका मनाङ एयरको पाइलटको मृत्यु

काठमाडौं : सोलुखुम्बुमा दुर्घटनामा परेर घाइते भएका मनाङ एयरको हेलिकप्टरका पाइलटको मृत्यु भएको छ।

गत असोज २७ गते सोलुखुम्बूको लुक्लाबाट लोबुचेको लागि उडेको यस विमानसेवाको नाइनएन-एएनजे हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा सख्त घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई सोही दिन एयर एम्बुलेन्सबाट भारत मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचारका लागि लगिएकोमा थियो।

उनको ४० देखि ५० प्रतिशतसम्म शरीर जलेको काठमाडौंको ह्याम्स अस्पतालले जनाएको थियो। दुर्घटनालगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

मनाङ एयरले मंगलबार विज्ञप्ति निकालेर चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारको क्रममा सेढाईंको दुखद निधन भएको जानकारी गराएको हो।

कम्पनीले उपचारका क्रममा सहयोग पुर्याउने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा कृतज्ञता व्यक्त गरेको छ।

कात्तिक ८, २०८० बुधबार ०९:२०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।