मध्यपूर्वको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमण, २० भन्दा बढी सैनिक घाइते

मध्यपूर्वको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमण, २० भन्दा बढी सैनिक घाइते

एजेन्सी : अमेरिकी रक्षा विभागले गत हप्ता इराक र सिरियामा रहेका आफ्ना सैन्य अखडाहरूमा ड्रोन आक्रमणमा २० भन्दा बढी सैनिक घाइते भएको जनाएको छ।

इजरायल र हमासबीचको द्वन्द्वका बीच मध्यपूर्वमा तनाव बढेको छ। यस क्षेत्रमा अमेरिकी विमान वाहकहरू पनि तैनाथ छन्।

पेन्टागनका प्रवक्ता प्याट्रिक राइडरले अमेरिकी सेनामाथि १२ पटक ड्रोन र रकेटले आक्रमण गरेको बताएका छन्। उनले यस्ता घटनाले यस क्षेत्रमा तनाव बढ्नसक्ने चेतावनी दिए।

अमेरिकी सेनासँग आत्मरक्षामा बदला लिने अधिकार भएकोसमेत राइडरले बताएका छन्। उनले आवश्यक परे अमेरिकी सेनाले निर्णायक जवाफ दिने चेतावनी पनि दिए।

यी आक्रमणको पछाडि इरान समर्थित समूहहरू रहेको उनको आरोप छ। 

इजरायल-हमास द्वन्द्वको बीचमा, इरान समर्थित शिया मिलिशियाहरूले हालैका दिनहरूमा इराक र सिरियामा अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्न धेरै पटक चेतावनी दिएका छन्।

राइडरले भने, ‘आक्रमण गर्ने समूहहरूलाई आईआरजीसी (इरानको रिभोलुसनरी गार्ड)ले समर्थन गरेको हामीलाई थाहा छ। निकट भविष्यमा यस क्षेत्रमा इरानी प्रोक्सी बलहरू र अन्ततः इरानद्वारा नै अमेरिकी सैन्य बलहरूविरुद्ध आक्रामण बढाउन सक्छन्।’

सोमबार, अमेरिकी सेनाले सिरियाको अल-तान्फ सैन्य शिविरमा आक्रमण गर्न आएका दुई आत्मघाती ड्रोनलाई खसालेको थियो। यस घटनामा कोही पनि घाइते भएका छैनन्।

शनिबार इराकको अल असद सैन्य शिविरमा आत्मघाती ड्रोनले आक्रमण गरेको थियो। यसमा कुनै क्षतिको खबर छैन।

कात्तिक ८, २०८० बुधबार ०८:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।