१९ वर्षमुनिको एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई १९ रनले पराजित

१९ वर्षमुनिको एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई १९ रनले पराजित

काठमाडौं : १९ वर्षमुनिको एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ।

वर्षाले प्रभावित भएर दोस्रो इनिङलाई २७ ओभरमा झारिएको खेलमा युएईले १९८ रनको लक्ष्य पाएको थियो। युएई २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमा समेटिएपछि नेपालले १९ रनले उपाधि जितेको हो।

युएईका लागि ध्रुव परासरले ५९ रनको अर्धशतकीय पारी खेल्दा आर्यन्स शर्माले ३२, आयान अफ्जल खान ३० र यासिन किरण राईले १७ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि आकाश त्रिपाठीले चार, सुवास भण्डारीले तीन तथा आकाश चन्दले दुई तथा हेमन्त धामीले एक विकेट लिए।

त्यसअघि क्वालालम्पुरको बायोमस ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनाएको थियो।

नेपालका लागि कप्तान देव खनालले १०० रनको शतकीय पारी खेल्दा उत्तम रङ्गु थापा मगर र अर्जुन कुमालले क्रमशः ५७ र ५५ रनको अर्धशतकीय पारी खेले।

दीपकप्रसाद डुम्रेले २८ रन बनाएर आउट हुँदा दीपेश कँडेलले अविजित १० रन बनाए।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो।

उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो।

नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो।

कात्तिक ७, २०८० मंगलबार १५:३९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।