चिनियाँ विदेश मन्त्रीले भने, ‘इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार छ तर...’

चिनियाँ विदेश मन्त्रीले भने, ‘इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार छ तर...’

एजेन्सी : चिनियाँ विदेशमन्त्रीले इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन्।

इजरायलका समकक्षी एली कोहेनसँग हमास र इजरायलबीच चलिरहेको द्वन्द्वबारे पहिलोपटक फोनमा कुरा गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले इजरायलललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका हुन्।

तर उनले नागरिकको सुरक्षा र अन्तर्राष्ट्रिय कानूनको पालना अनिवार्य रहेकोसमेत स्मरण गराएका छन्।

चीनले जारी गरेको आधिकारिक विज्ञप्तिमा वाङ यीले एली कोहेनलाई आफ्नो सरकारले आफ्नो सुरक्षा गर्दै अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्ने बताएको उल्लेख गरिएको छ।

चिनियाँ विदेशमन्त्रीले प्यालेस्टाइनका विदेशमन्त्री रियाद अल-मालिकीसँग पनि कुरा गर्दै गाजाका जनताप्रति चीनको ‘गहिरो सहानुभूति’ व्यक्त गरे।

वाङ यीले केही समयपछि नै अमेरिकाको भ्रमण गर्दैछन्।

यसअघि इजरायलको बमबारीका सम्बन्धमा चीनले हमासको आक्रमणपछि इजरायलको प्रतिक्रिया ‘आत्मरक्षाभन्दा बढी’ भएको बताएको थियो।

कात्तिक ७, २०८० मंगलबार १४:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।