बस्ती नजिकै सिद्धबाबा सुरूङमार्गको क्रसर बसेपछि स्थानीयको विरोध, आयोजना प्रमुख भन्छन्- ‘विवाद गरे ढिला हुन्छ’

बस्ती नजिकै सिद्धबाबा सुरूङमार्गको क्रसर बसेपछि स्थानीयको विरोध, आयोजना प्रमुख भन्छन्- ‘विवाद गरे ढिला हुन्छ’

बुटवल : सिद्धबाबा सुरूङमार्गका लागि तिनाउ गाउँपालिका-३ मा बस्तीको बीचमा क्रसर राखेपछि स्थानीयले विरोध जनाएका छन्।

सिद्धार्थ राजमार्गको १ सय मिटर नजिक र तिनाउ खोलाबाट २० मिटरको दुरीमा मानव बस्ती नजिकै पूर्व स्वीकृतिविना क्रसर राखिएपछि स्थानीयले चर्को विरोध गरेका हुन्।

राष्ट्रिय गौरवको आयोजना रहेको सिद्धबाबा सुरूङमार्ग अहिले निर्माणधीन अवस्थामा छ। सुरूङमार्गको ठेक्का लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रशासन, स्थानीय पालिका र स्थाानीयसँगको समन्वय र स्वीकृतिविना क्रसर निर्माण थालेको हो।

‘सुरूवातमा निर्माणका सामग्री राख्ने भनेर हामीले बुझियो। निर्माण गर्दा आवश्यक पर्ने सामानले जनतामा असर नपर्ने भएकाले त्यहाँ राख्दा कसैले विरोध गरेनन्। तर, रातारात क्रसर तयार भएपछि हामीले विरोध जनाएका हौँ’, तिनाउ गाउँपालिका–३ दोभानका स्थानीय विष्णु पाण्डेले भने।

वातावरण प्रभाव मूल्याङ्कन विना नै क्रसर राखेपछि स्थानीयहरू तिनाउ गाउँपालिकाको कार्यालयमा समेत पुगेका थिए। स्थानीयको विरोधपछि गाउँपालिकाले सरोकारवाला सबैलाई राखेर छलफल गरेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए।

‘विना जानकारी क्रसर राखेको विषय स्थानीयले भनेपछि हामीले निर्माण कम्पनीसँग कागजपत्र माग गरेका थियौँ। निर्माण कम्पनीले पूर्वाधार मन्त्रालयको छाप हानेको एउटा डकुमेन्ट बुझाएको छ,’ उनले भने, ‘सार्वजनिक सुनुवाइ भएको विवरण पनि बुझाएको थियो। तर त्यो सार्वजनिक सुनुवाइ क्रसर बन्नु पहिले नै भएको हो। हामीले पुर्वाधार मन्त्रालयमा जनताको माग सम्बोधन गरेर मात्र काम अगाडि बढाउन आग्रह गरेका छौँ।’

छलफलमा निर्माण कम्पनीले क्रसरलाई आवाज र धुलोरहित बनाउने प्रतिबद्धता जनाएको उनको भनाइ छ। आफूहरू पनि स्थानीयलाई प्रभाव नपर्ने गरी काम हुनुपर्ने पक्षमा रहेको बताए।

सिद्धबाबा सुरूङमार्ग आयोजना भने सरकारसँग गरेको सम्झौता अनुसार नै क्रसर राखेको दाबी गरेको छ। सुरूङमार्गको डिपिआरमै क्रसर राख्ने विषय उल्लेख भएकाले यसलाई छुट्टै दर्ता गर्नु नपर्ने कम्पनीको भनाइ छ। अहिले क्रसर निर्माण अन्तिम प्रक्रियामा रहेको छ।

पाल्पा दोभानका स्थानीय तोया लम्सालले स्थानीयसँग समन्वय नगरी क्रसर राखेको र क्रसर बस्तीको बीचमा भएकाले धुलो र आवाजले प्रभावित पार्न नहुने बताए। सरकारी सम्झौता भए पनि बस्तीको बीचमा स्थानीयसँग सरसल्लाह नै नगरी क्रसर राख्नु वातवरणीय हिसाबले पनि अनुपयुक्त भएको उनको भनाइ छ।

पहिरोले पुरिएको टनेलको प्वाइन्ट सफा गरिँदै
सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सको माथिल्लो टनेल निर्माण गर्ने क्रममा पहिरोले पुरिएपछि अहिले निर्माण कम्पनीले स्काभेटरको प्रयोग गरेर सफा गरिरहेको छ।

सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले टनेल बनाउने स्थानमा असार दोस्रो साता झरेको पहिरो सफा गर्ने काम भइरहेको बताइन्। गतवर्ष ग्लोबल टेन्डरबाट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सुरूङमार्ग निर्माणको जिम्मा पाएर ५ वर्षभित्र बनाउने सम्झौता गरेको छ।

सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएपछि पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ। उसले तोकिएको समय ९ महिनाभित्रै डिजाइनको बुझाएको थियो। त्यही निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो।

आयोजनाका प्रमुख ई. रामपुकार जैसवालले अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई सुरुवातमै अनावश्यक विवादमा पार्न खोजेमा आयोजना ढिलाइ हुनसक्ने चेतावनी दिए। उनले आयोजना निर्माणका लागि आईई(प्रारम्भिक वातावरणीय परीक्षण) गरेर नै क्रसर राख्न लागेको बताए।

कात्तिक ७, २०८० मंगलबार ०८:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।