एसीसी प्रिमियर कपमा नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन
काठमाडौं : मलेसियामा जारी १९ वर्षमुनिको एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नेपालले टस जितेको छ।
बायोमास ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
यस्तै नेपालको टोलीमा एक परिवर्तन गरिएको छ। अलराउन्डर मिलन बोहराको स्थानमा विकेकिपर उत्तम थापामगरलाई मौका दिइएको छ ।
नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो।
उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो।
नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो।
कात्तिक ७, २०८० मंगलबार ०७:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।