विश्वकपमा पाकिस्तानमाथि अफगानिस्तानको पहिलो जित, एकैपटक चार स्थान माथि उक्लियो

विश्वकपमा पाकिस्तानमाथि अफगानिस्तानको पहिलो जित, एकैपटक चार स्थान माथि उक्लियो

काठमाडौं : अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित हात पारेको छ।

अफगानिस्तानले पहिलो पटक ओडिआई खेलमा पाकिस्तानलाई हराएको हो। जारी विश्वकपमा अफगानिस्तानको दोस्रो जित हो। यसअघि इंग्ल्यान्डलाई हराएको थियो।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।

अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले १ सय १३ बलमा १० चौकासहित सर्वाधिक ८७ रनको योगदान दिए।

रहमानउल्लाह गुरबाजले ५३ बलमा ९ चौका र १ छक्कासहित ६५ रन बनाए।

ओपनर गुरबाज र जद्रानले पहिलो विकेटका लागि २१.१ ओभरमा १ सय ३० रनको शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थियो।

यो अफगानिस्तानले ओडिआईमा पूरा गर्यो सर्वाधिक ठूलो लक्ष्य पनि हो। यसअघि अफगानिस्तानले ओडिआईमा सर्वाधिक ठूलो लक्ष्य २०१४ मा २ सय ७४ रनको लक्ष्य पूरा गरेको थियो।

पाकिस्तानले विश्वकपमा २ सय ७५ माथिको योगफल पहिलो पटक बचाउन नसकेको हो। यसअघि १३ पटक २ सय ७५ माथिको योगफल बचाएको थियो।

अफगानिस्तानका रहमात शाह ८४ बलमा ५ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे।

हश्मातुल्लाह शाहिदी ४५ बलमा ४ चौकासहित ४८ रनमा नट आउट रहे। पाकिस्तानका हसन अली र शाहिन शाह अफ्रिदीले समान एक एक विकेट लिए।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो।

पाकिस्तानका कप्तान बाबर आजमले ९२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।

ओपनर अब्दूल्लाह शफिक ७५ बलमा ५ चौका र २ छक्कासहित ५८, इमाम उल हक १७, मोहम्मद रिजवान ८, साउद सकिल २५, शादब खान र इफ्तिखर अहमदले ४०-४० रन बनाए।

अफगानिस्तानका नुर अहमदले १० ओभरमा ४९ खर्चेर ३ विकेट लिए। नविन उल हकले ७ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए। मोहम्मद नाबी र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए।

जितसँगै अंकतालिकाको पुच्छारमा रहेको अफगानिस्तान एकैपटक छैटौं स्थानमा उक्लिएको छ। उता पाकिस्तान भने चौथोबाट पाँचौं स्थानमा झरेको छ। अफगानिस्तान र पाकिस्तान दुवैको चार अंक छ।

कात्तिक ७, २०८० मंगलबार ०७:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।