आज विजया दशमी : अपराजिताको आराधना र देवी-विसर्जन, टीकाको उत्तम साइत विहान ११ बजेर २ मिनेटमा

आज विजया दशमी : अपराजिताको आराधना र देवी-विसर्जन, टीकाको उत्तम साइत विहान ११ बजेर २ मिनेटमा

नेपालीहरूको महान् चाड बडादशैं नौ दिनसम्म शक्तिको उपासना गरेर दशौं दिन देवी-विसर्जन गर्ने दिन हो। आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म दुर्गा भवानीको आराधना गरी दशमीका दिन दुर्गा-विसर्जन गरिन्छ र धूमधामसँग दशैं मनाइन्छ।

दशैंको सामाजिक महत्व एकातिर छ। देश-परदेश पुगेका परिवारका सदस्य घर फर्कन्छन्, आफन्तसँग भेटघाट हुन्छ, मान्यजनबाट टीका र आशीर्वाद लिइन्छ, नयाँ कपडा लगाइन्छ, मिठामिठा खानपान गरिन्छ, गाउँ-सहर, टोल-छिमेक सबैतिर मानिसको बाक्लो आउजाउ हुन्छ, छिमेकी, आफन्त, नातागोता, मान्यजन, साथीसँगाती धेरैसँग भेट हुन्छ यी सबै कुराले गर्दा दसैँ रमाइलो हुन्छ। तर यसको मुख्य विशेषता भने हर्षोल्लासपूर्वक गरिने नवरात्रोत्सवको समापन र देवी-विसर्जन नै हो।

विजया दशमीको अघिल्लो दिन महानवमीका दिनसम्म दुर्गा देवीका नौ रूपको पूजा अर्चना गरी अनुष्ठानका मुख्य कामहरू सकिन्छन्। विजया दशमीका दिन देवी अपराजिताको पूजा-आराधना गरिन्छ र देवी-विसर्जन गरिन्छ।

अपराजिता शब्दको अर्थ कसैले जित्न नसक्ने स्त्री भन्ने हो। यो दुर्गा देवीको सर्वशक्तिसम्पन्न रूप हो। यिनलाई विजया पनि भनिएको छ। मार्कण्डेय पुराणअन्तर्गतको सप्तशतीको पाँचौँ अध्यायमा देवताहरूले अपराजिताको स्मरण गरेको कुरा उल्लेख छ। तिनै अपराजिता प्रकट भएर असुरसेनासहित निशुम्भ र शुम्भको वध गरेको कथा त्यहाँ वर्णन गरिएको छ।

मोक्ष र विजयको कामना गर्नेले दशमीका दिन अपराजिताको पूजा गर्नुपर्ने विधान स्कन्दपुराणमा उल्लेख भएको पाइन्छ। विजयका लागि देवी विजया/अपराजिताको पूजा गरिने हुनाले नै आश्विन शुक्ल दशमीलाई विजया दशमी भनिएको हो।

पूजाविधि
प्रतिपदाका दिन घटस्थापना गरी नवरात्रभरि नवदुर्गाको पूजा गरेकै कलशमा दशमीका दिन अपराजिताको पूजा गरिन्छ। अपराजिताको पूजा गर्दा पनि सधैँजस्तै दीप, कलश, गणेश, अन्य आवाहित-स्थापित देवीदेवताको पूजा गरी प्रधान देवताका रूपमा अपराजिताको पूजा गर्नुपर्छ। अपराजितालाई सम्भव भएसम्म अपराजिताको पुष्प अर्पण गर्नु उत्तम हुन्छ। यिनलाई अरू मन्त्रका अतिरिक्त ‘ॐ अपराजितायै नमः’ भनेर पूजा गर्न सकिन्छ।

अपराजिताको पूजा गर्दा यिनका दायाँपट्टि जया र बायाँपट्टि विजयाको पनि पूजा गर्नुपर्छ। यिनका वाद्य एवं आयुध शंख, चक्र, गदाको अनि वाहन सिंहको पनि पूजा गर्नुपर्छ। नवरात्रभरि पूजा गरेका देवीको पनि विसर्जन नगरेकाले तिनीहरूको पनि पूजा गर्नुपर्छ। देवीपूजाको क्रममा आआफ्ना कुलदेवताको पनि स्मरण र पूजन गरिन्छ। बलिदान, कुमारीपूजा, सप्तशती पाठ आदि कर्म भने नवमीका दिन नै समाप्त हुन्छन्।

देवी विसर्जन
देवीपूजाको सबै काम सकिएपछि देवीलाई विदा गर्ने काम हुन्छ। यसका लागि भगवतीसँग क्षमा-प्रार्थना गरिन्छ अनि एउटा पहेँलो वस्त्र बिछ्याएर त्यसमा सस्र्यूं र अपराजिताको पात राखी ‘ॐ क्रियासिद्ध्यै अपराजितायै नमः’ ‘ॐ दुर्गायै नमः’ भनेर पूजा गरी त्यसलाई कुटुरो पारेर देवीको दाहिने हातमा बाँधिदिएको कल्पना गरी उनका नजिकै राखिन्छ।

अनि देवीको प्रदक्षिणा गरी शंखजल घुमाएर ‘हे देवी प्रसन्न हुनुहोस्, मेरा सबै अपराध क्षमा गर्नुहोस्’ भनेर अर्घ दिइन्छ। यसपछि अक्षता, पुष्प चढाएर देवीको विसर्जन गरिन्छ।

देवीविसर्जन गरेपछि घटस्थापनाको कलश, शान्तिकलश र कर्मपात्रको जलले अभिषेक लिने, देवीका पार्षदहरूलाई र कुलदेवतालाई फूल-प्रसाद चढाउने गरी मान्यजनबाट शुभ साइतमा टीका ग्रहण गरिन्छ।

टीका ग्रहणका लागि शुभ साइत
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। समितिका अनुसार आज बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।

दशैं-टीकामा प्रयोग हुने केही आशीर्वादात्मक श्लोकहरू

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

तिम्रो आयु अश्वत्थामाको जस्तो होओस्। दशरथको जस्तो सम्पत्ति होओस्। रामका जस्तो शत्रु नाश होऊन्। नहुषको जस्तो ऐश्वर्य होओस्। वायुको जस्तो गति होओस्। दुर्योधनको जस्तो मान होओस्। भीष्मको जस्तो पराक्रम होओस्। बलरामको जस्तो बल होओस्। युधिष्ठिको जस्तो सत्यता होओस्। विदुरको जस्तो ज्ञान होओस्। नारायणको जस्तो कीर्ति होओस्।

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे
वद्र्धन्तां बन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालमूलम्।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलसुखयुतैर्हायनानां शतञ्च।।

तिम्रो घरमा कमलजस्ता नेत्र भएकी लक्ष्मी बसून्। कण्ठमा सरस्वती बसून्। बन्धुहरू बढून्। सबै शत्रुहरू पातालमा पुगून्। तिम्रो स्वच्छ कीर्ति देशदेशान्तर फैलियोस्। छोरा–नातिहरूसमेत सबै सुख पाएर तिमी सय वर्ष बाँच।

निवसतु तव गेहे निश्चला सिन्धुपुत्री
प्रविशतु भुजदण्डे कालिका शत्रुहन्त्री।
तव वदनसरोजे भारती भातु नित्यं
न चलतु तव चित्तं पादपद्मान्मुरारेः।। 

तिम्रा घरमा अचल लक्ष्मीको वास होओस्। भुजामा शत्रु हनन गर्ने कालिका प्रवेश गरून्। तिम्रा मुखरूपी कमलमा सधैँ सरस्वती प्रकाशित होऊन्। तिम्रो चित्त भगवान् विष्णुका चरणकमलमा निश्चल भएर लागोस्। 

जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नाम भएकी हे देवि तिमीलाई नमस्कार छ।

आयुर्वृद्धिर्यशोवृद्धिर्वृद्धिप्रज्ञासुखश्रियाम्।
धर्मसन्तानयोर्वृद्धिः सन्तु ते सप्तवृद्धयः।।

तिम्रो आयु बढोस्। कीर्ति बढोस्। ज्ञान, सुख र सम्पत्तिको वृद्धि होओस्। धर्म र सन्तानको वृद्धि होओस्। तिम्रा यी सात कुराको वृद्धि होओस्।

मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः।
शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयोऽस्तु वः।।

तिम्रा लागि मन्त्रहरू सार्थक होऊन्। मनका इच्छाहरू पूरा होऊन्। शत्रूहरूको बुद्धि नाश होओस्। मित्रहरूको उदय होओस्।
 

कात्तिक ७, २०८० मंगलबार ०७:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।