नेपाली टोलीमा दुई परिवर्तन

नेपाली टोलीमा दुई परिवर्तन

काठमाडौं : त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजको युएईविरुद्धको खेलमा नेपालले टोलीमा दुई परिवर्तन गरेको छ।

माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेसँगै टिममा दुई खेलाडी परिवर्तन गरेका हुन्।

विवेक यादव र अभिनाश बोहोरा टोलीमा फर्कँदा पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ।

यसअघिको तीन खेलमा पनि नेपालका कप्तानले टस जितेका थिए। जारी सिरिजमा रोहित टसका लागि भाग्यमानी देखिएका छन्।

उनले यसअघिका तीनमध्ये दुई खेलमा बलिङ र एक खेलमा ब्याटिङ रोजेका थिए।

आजको खेल जितेर युएई फाइनलमा आफ्नो स्थान पक्का गर्न चाहन्छ भने नेपाल भने यसअघि नै फाइनल पुगिसकेको छ।

नेपाल र युएईबीच भएको पछिल्ला पाँच टी-२० आई खेलमा नेपालले तीनवटा जित्दा युएईले दुईवटामा जित हात पारेको छ।

यहि सिरिजको पहिलो खेलमा नेपालले युएईलाई सात विकेटको जित निकालेको थियो।

उक्त जितमा नेपालका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ९३ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए। उनीहरू दुवै नटआउट रहेका थिए।

यसअघि टी-२० क्रिकेटमा नेपालका लागि चौथो विकेटको साझेदारी ८५ रन थियो, त्यो पनि शरद भेषावकर र पारस खड्काको बीचमा।

पारस अहिले सिरिजको निर्देशक हुन् भने शरद यहि सिरिजमा कमेन्ट्री गरिरहेका छन्।

जारी सिरिजमा युएईले हङकङमाथि पहिलो जित हात पारेको छ। युएईले समूह चरणको चौथो तथा अन्तिम खेल हङकङसँग बुधबार खेल्नेछ।

फाइनल भने शुक्रबार विहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

आईसीसी टी-२० विश्वकपको एसिया छनोटअघि तयारीस्वरूप प्रतियोगिता आयोजना गरिएको हो। छनोटका खेलहरू ३० अक्टोबरदेखि काठमाडौंमा नै हुँदैछन्।

कात्तिक ६, २०८० सोमबार १०:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।