मुस्ताङबाट मात्र २३ करोडको च्याङ्ग्रा निकासी, एउटाको सरदर मूल्य ४० हजार

मुस्ताङबाट मात्र २३ करोडको च्याङ्ग्रा निकासी, एउटाको सरदर मूल्य ४० हजार

म्याग्दी : मुस्ताङबाट दशैं लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैंका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको बताए।

‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य हुन आउँछ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उनले बताए। गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो।

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रूपैयाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। च्याङ्ग्रा खरीद गर्नका लागि व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए।

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन्। गत वर्ष ६ हजार ६ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ।

कात्तिक ६, २०८० सोमबार ०९:०९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।