त्रिदेशीय टी-२० आई क्रिकेट सिरिजमा युएईसँग भिड्दै नेपाल
काठमाडौं : त्रिदेशीय टी-२० आई क्रिकेट सिरिजमा आज नेपालले चिरपरिचित प्रतिस्पर्धी युएईसँग भिड्दैछ।
खेल माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाइसकेको छ भने युएई आजको खेल जितेर फाइनलमा स्थान बनाउन चाहन्छ।
नेपाल र युएईबीच भएको पछिल्ला पाँच टी-२० आई खेलमा नेपालले तीनवटा जित्दा युएईले दुईवटामा जित हात पारेको छ।
यहि सिरिजको पहिलो खेलमा नेपालले युएईलाई सात विकेटको जित निकालेको थियो।
उक्त जितमा नेपालका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ९३ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए। उनीहरू दुवै नटआउट रहेका थिए।
यसअघि टी-२० क्रिकेटमा नेपालका लागि चौथो विकेटको साझेदारी ८५ रन थियो, त्यो पनि शरद भेषावकर र पारस खड्काको बीचमा।
पारस अहिले सिरिजको निर्देशक हुन् भने शरद यहि सिरिजमा कमेन्ट्री गरिरहेका छन्।
जारी सिरिजमा युएईले हङकङमाथि पहिलो जित हात पारेको छ। युएईले समूह चरणको चौथो तथा अन्तिम खेल हङकङसँग बुधबार खेल्नेछ।
फाइनल भने शुक्रबार विहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
आईसीसी टी-२० विश्वकपको एसिया छनोटअघि तयारीस्वरूप प्रतियोगिता आयोजना गरिएको हो। छनोटका खेलहरू ३० अक्टोबरदेखि काठमाडौंमा नै हुँदैछन्।
कात्तिक ६, २०८० सोमबार ०८:०३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।