अनि सितामैयाँलाई उभिएरै सितार बजाउन रहर लाग्यो

अनि सितामैयाँलाई उभिएरै सितार बजाउन रहर लाग्यो

काठमाडौं : विभिन्न उस्तादहरूको सांगीतिक कार्यक्रममा सहभागी हुँदै आएकी थिइन् सिता मैयाँ राजचल। एक दिन उनले भारतीय गायक अदनान सामीको कार्यक्रममा अलि फरक दृश्य देखिन्। एक जनाले गितार समातेर मञ्चमा मस्त प्रस्तुति दिइरहेका थिए। ठूलो भिड उनीसँगै झुमिरहेका थिए। माहोल देखेर उनी दङ्ग परिन्।

उनले आफू पनि त्यसरीनै मञ्चमा प्रस्तुत हुने योजना बनाइन्। राजचल सितारवादक हुन्। सितार बजाउँदा बस्ने तरिकै फरक हुन्छ। यसको आफ्नै मुद्रा छ। परम्परागत रूपमा सितार वादकहरू टुम्बा कक्षको साथ एउटा क्रस-खुट्टाको पोजिशनमा बस्दै प्रस्तुति दिन्छन्।

उनले पनि सानैदेखि त्यसरी नै बजाउन सिकिन् अनि त्यसरी नै बजाउँदै आइन्। त्यो कार्यक्रम देखेपछि भने उनलाई पनि उठेर सितार बजाउन मन लाग्यो।

‘त्यो कार्यक्रमको प्रस्तुति देखेपछि त म जिल्ल परेँ। मेरो गुरूहरू यति धेरै उत्कृष्ट बजाउनु हुन्छ। उहाँहरूकोमा दर्शक एकदम सीमित मात्र देखेको थिएँ। तर, त्यहाँ त उभिएर, गितार बजाएर चिच्याइहे पनि दर्शकहरू पागलसरि झुम्नुभएको देखेर लोभनै लाग्यो,’ उनले भनिन्, ‘मैले सितार बजाउँदा पनि दर्शक यसरी नै झुम्मिउन्, मैले पनि यसरी झुमेर सितार बजाउन पाए हुन्थ्यो भन्ने लागिरह्यो।’

राजचललाई उभिएर सितार बनाउने रहर लाग्यो। तर, गितार जस्तो बोकेर सितार बनाउन सहज थिएन। एक त स्थापित मान्यता अनि अर्को सितारको तौल। गितार बोके झैँ सितार बोक्न कहाँ सहज हुन्छ र! तर, उनले आफ्नो रहर पूरा मात्र गरिनन् विश्व रेकर्ड नै राखिन्।

त्यसबेला उनी रबिन्द्र भारती विश्वविद्यालयमा स्नातक पढ्दै थिइन्। पढाइ सकेसँगै नेपाल आइन्। आफ्नो लागि सितार किनिन् अनि त्यसमा गितारमा जस्तै बेल्ट हालेर उभिएर बजाउने कोशिस गरिन्। उनले अनिल शाहीको कार्यक्रममा उभिएरै सितार बजाउने मौका पनि पाइन्।

अनि उभिएरै सितार बजाइन्
‘नेपाल फर्किएपछि पहिलो शो उभिएरै गरेँ। बसेर त वर्षौंदेखि बजाइसकेको थिएँ। तर, त्यसबेला साच्चिकै मभित्र अलग्गै ऊर्जा आएको अनुभव भयो,’ आफ्नो पहिलो कार्यक्रमको प्रस्तुति सम्झिँदै उनले भनिन्, ‘त्यो भन्दा अगाडि मैले कुनै शोमा त्यसरी दर्शक, स्रोताहरूले रमाइलो मानेको देखेकै थिइनँ। त्यसपछि आफैँलाई पनि रमाइलो लाग्यो। अनि झन् प्रोत्साहित पो भएँ।’

सन् २००७ पछि बसेर सितार बजाएको अनुभव छैन उनलाई। निरन्तर उभिएरै सितार बजाउन थालिन् उनले अनि उभिएर सितार बजाउने महिलाको रूपमा विश्वव्यापी रूपमै उनको चर्चा शुरू भयो।

सन् २०१९ मा त उनले उभिएर सितार बजाउने पहिलो महिलाको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मै नाम समेत लेखाउन सफल भइन्। अहिले पनि उनी प्राय सांगीतिक कार्यक्रममै व्यस्त छिन्। संगीतमै स्नातकोत्तर समेत गरेकी छिन् उनले। आजीवन आफूलाई संगीतको विद्यार्थी भन्न रुचाउँछिन्।

विभिन्न संगीत विश्वविद्यालयमा संगीत पनि सिकाइरहेकी छन् अहिले उनले। उनी अहिले संस्कृतिक संस्थामा आवद्ध छिन्। यहाँ आउनुअघि उनी ललितकला क्याम्पसमा अध्यापन गराउँथिन्।

सितार प्राय शास्त्रिय संगीतमा प्रयोग हुने बाध्य यन्त्र हो। तर, उनले क्लासिकलसँगै लोक, ज्याज, पप, ब्लुज सबै प्रकारको संगीतमा सितार बजाएकी छिन्। उनले आफ्नो ब्याण्डको विशेषता नै ‘फ्युजन’ भनेर चिनाउन रुचाउँछिन्। उनले ‘संगम श्रुति ब्याण्ड’ बनाएकी छन्।

चाडपर्वमा सांगीतिक माहोल
मालश्री धुनको सम्बन्ध दशैंसँग मात्र छैन। तर, यो अहिले दशैं आयो भनेर जनाऊ दिने संगीत जस्तै बनिसक्यो। जब मालश्रीको धुन सुनिन थाल्छ अनि दशैंको नजिकै आएको सूचना पाउँछ मनले।

‘घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मालश्री, अनि फेरि तिहार आए पछि तिहारकै आफ्नै संगीत धेरै बजाउन माग आउँछ। हामीलाई बजाउन पनि ऊर्जा मिल्छ। दर्शकले पनि रमाइलो मान्छन्। अरू बेला भनेको त मनोरञ्जन र आफ्नो इच्छाअनुसार फरक-फरक रागको संगीत सुनिने त भइ नै हाल्यो।’

सितार भन्दाअघि उनले हार्मोनियम बजाउँदै आएकी थिइन्। भजन गाउने भनेर हार्मोनियममा लहरा दिन उनी आफ्नो दिदीको घर जान्थिन्। त्यसैबेला सितार पनि देखिन्। सितार देख्नेबित्तिकै उनी आकर्षित भइन्। पछि दिदीकोमा आधारभूत तहसम्म सितार सिकेर एसएलसीपछि संगीतमा नै अघि बढिन्।

उभिएर सितार बजाएको गुरुहरूले रुचाएनन्
जब राजचलले उभिएर सितार बजाउन थालिन् पहिला त उनको गुरुहरूले रुचाएनन्। परम्परागत शैली बिगारेको आरोप पनि लाग्यो। तर, जब उभिएर सितार बजाउने संगीतकार भनेर उनी  परिचित भइन् त्यसपछि भने गुरुहरूको व्यवहार पनि बदलिन थाल्यो।

गुरुहरूले उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै उनलाई समर्थन दिए। उनी खुसी भइन्। संगीतको अवस्था जतिसुकै कमजोर भए पनि उनले यसलाई विकल्पमा भने राख्न परेको छैन। त्यही भएर पनि उनी आफ्नो आगामी यात्रा पनि सितार र संगीतमै बिताउन चाहन्छिन् । 

‘सितारको आकर्षण अहिले नपालमा मात्र नभएर विश्वव्यापी भइसकेको छ। यसलाई पर्यटन प्रवर्द्धनमा मिसाएर लान सकियो भने सितारसँगै हामी जस्तो संगीतमै जीवन समर्पित गरेकाहरूको लागि पनि धेरै राम्रो हुन्छ,’ उनले भनिन्, ‘अहिले धेरैजसो विदेशी पर्यटकहरू आउने कार्यक्रममा हाम्रो आफ्नो लोक संस्कृति झल्काउने बाजाहरूको माग बढेको अनुसार पनि त्यो अनुमान लगाउन सकिन्छ। त्यही भएर आगामी दिनहरूमा पर्यटनसँग जोडेर संगीतलाई लान सकियो भने यसमा केहि छैन भन्न पर्ने अवस्था आउँदैन।’

ब्याण्डको आफ्नै विशेषता
उनले आफ्नो ब्याण्ड स्थापित गरेको पनि २० वर्ष भइसक्यो। उनको ब्याण्डमा अहिले तबला-मादलमा नरेश प्रजापति छन् जसले एकै पटकमा ४७ वटा बाजा बजाएर रेकर्ड राखेका छन्।  गितारमा अजय नेपाली र बाँसुरीमा प्रेम वाइबा छन्। आवश्यकता अनुसार अन्य संगीतकारहरू पनि थपिरहेका हुन्छन् उनको ब्याण्डमा।

गितार वादक अजय नेपाली भने नेपालको प्रख्यात सारंगी वादक भरत नेपालीका छोरा हुन्। उनले पहिला सारंगी बजाउन सिकेको भए पनि अहिले बजारको माग अनुसार गितारमा रमाइरहेका छन्। विभिन्न साधनहरू बजाएर परीक्षण गरिरहेका हुन्छन् ,उनी। बास्केटबल खेलाडी उनी खेलमा भन्दा संगीतमै राम्रो रहेको भन्दै अहिले आफ्नो सम्पूर्ण समय संगीतलाई नै दिइरहेका छन्।

‘बाबाले पनि यही काम गरेर जीन्दगी बिताइरहनुभएको छ। मैले खेल र संगीतलाई सँगै अगाडि बढाउने कोशिस गरेँ। तर, सकिनँ। त्यही भएर खेल छोडेर संगीतमै लागिरहेको छु,’ उनी भन्छन्, ‘संगीतलाई व्यक्तिले आफ्नो जीवनबाट अलग्याउन सक्दैन। मेरो त झन् घर नै सांगीतिक माहोलको भयो। म पनि यसबाट अलग हुन सकिनँ।’

सारङ्गी हुँदै गितारसम्म बजाउन पछि नपर्ने उनी पनि नेपाली बाजा सारङ्गीलाई प्रोत्साहन गर्न चाहन्छन्। अनि समय मिल्यो कि सारङ्गीको प्रचार पनि गरिहाल्छन्। राजचलको समूहका भएका अन्य सदस्यका लागि पनि संगीत जीवन निर्वाहको पेशा हैन। पहिला संगीत उनीहरूको दैनिकी हो। प्यासन हो। त्यही प्यासनले उनीहरूलाई संगीतमा दत्तचित्त बनाइरहेका छन्।

कात्तिक ६, २०८० सोमबार ०९:०९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।