इजरायली राजदूतले भने, ‘विपिन जोशीको अवस्था पत्ता लगाउन अन्तर्राष्ट्रिय समुदाय गुहार्छौँ’

इजरायली राजदूतले भने, ‘विपिन जोशीको अवस्था पत्ता लगाउन अन्तर्राष्ट्रिय समुदाय गुहार्छौँ’

काठमाडौं : नेपालका लागि इजरायली राजदूत हनान गोडेरले हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था पत्ता लगाउन अन्तर्राष्ट्रिय समुदाय गुहार्ने बताएका छन्।

आइतबार बिहान इजरायलमा हमासको आक्रमणमा मृत्यु भएकामध्ये तीन जनाको शव त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा बुझाउने क्रममा राजदूत हनानले जोशी अवस्था पत्ता लगाउनका लागि आफूहरू खोजीमा रहेको बताए।

‘जोशीलाई हमासले बन्धक बनाएको छ। हामीलाई अझैसम्म थाहा छैन उनी कहाँ छन्। हामी उनको खोजी गरिरहेका छौँ। हामी अन्तर्राष्ट्रिय समुदाय र ती आतंककारीहरूलाई युद्धसँग सम्बन्ध नै नभएका ती बन्धकलाई छोड्न आग्रह गर्छौँ।’

हमासको आक्रमणबाट ज्यान जोगाएर विमानस्थलमा आइपुगेका धनबहादुर चौधरीलाई पनि राजदूत हनानले आफू सधैँ साथमा रहेको र परिवारको सदस्य झैँ मानेको बताए।

सोही क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चौधरीले आफूहरू बङ्करमा लुकिरहेको समयमा बमले आक्रमण गरेको बताए।

‘हामी बङ्करमा लुकिरहेका थियौँ। एक्कासी ग्रेनाइट र गनको अट्याक आयो,’ उनले भने, ‘जेनतेन गरेर म बाँच्न सफल भएँ तर साथीहरूलाई बचाउन पनि सकिएन, केही गर्न पनि सकिएन।’

कात्तिक ५, २०८० आइतबार ०९:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।