जब क्याप्टेन रोहितले आफूले पाएको मेडल र खाम श्यामलाई दिए

जब क्याप्टेन रोहितले आफूले पाएको मेडल र खाम श्यामलाई दिए

काठमाडौं : नेपाली क्रिकेट टिमले पछिल्ला समय मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ आएपछि टिमले मैदानमा जादू नै देखाउन थालेको छ।

चाहे त्यो विश्वकप क्रिकेट लिग-२ को खेलमा होस्, चाहे एसीसी प्रिमियर कप अथवा एसिया कपमा नै।

नतिजा आफ्नो पक्षमा नभएपछि नेपाली टिमका खेलाडीले विश्व जगतको ध्यान तान्न सफल भएको छ।

मुख्य प्रशिक्षक मोन्टी आउनेबित्तिकै नेपाली क्रिकेटलाई पुनः जीवनदान मिलेको पूर्व राष्ट्रिय खेलाडीहरूले नै बताउने गरेका छन्।

पूर्व कप्तान पारस खड्काले केही समयअघि ‘मोन्टी सर चाँडै आउनुभाको भए म अझै क्रिकेट खेलिरहेको हुन्थेँ’ भन्ने भनाइले पनि त्यसलाई पुष्टि गर्छ नै।

उसो त उनी अहिले नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा निर्वाचित भइसकेका छन्। अहिले उनकै निर्देशनमा काठमाडौं नेपाल, युएई र हङकङ सम्मिलित त्रिदेशीय सिरिज जारी छ।

सिरिजमा नेपालले खेलेका तीन खेलमध्ये तीनवटैमा जित निकालिसकेको छ।

युएईसँगको पहिलो खेल नेपालले सात विकेटले जित्दा दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गर्यो। शनिबार भएको तेस्रो खेलमा पनि नेपालले हङकङलाई ७९ रनले पराजित गर्यो।

प्रशिक्षक मोन्टी देसाइ आएदेखि नै उनले ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वान बल ब्याटल’को अवधारणा ल्याएर त्यसैलाई पछ्याइरहेका छन्।

त्यहि अवधारणा अुनसार प्रत्येक खेलपछि खेलाडी र सपोर्ट स्टाफलाई उपहार र मेडल दिने गरिन्छ।

त्रिदेशीय सिरिजमा युएई र हङकङसँगको पहिलो खेल जितेपछि पनि ह्याप्पी ड्रेसिङ रुमको कार्यक्रम भयो, त्यो पनि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै।

सो क्रममा युएईविरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेललाई अनफिल्ड अवार्ड दिइयो। जसमा उनले मेडल र खाममा केही रकम पाए।

उनले युएईविरुद्धको खेलमा ४० बलमा पाँच चौकाको मद्दतले ५१ रनको नटआउट पारी खेले। सो बापत उनलाई उक्त अनफिल्ड अवार्ड दिइएको थियो।

तर, रोहितले त्यो अवार्ड डेब्यु खेलाडी श्याम ढकाल (मौसम)लाई दिए। उनले मौसमको बलिङमा आफूलाई सुधार्दै लगेको भन्दै उनलाई अवार्ड दिन चाहेको बताए।

उनले भने, ‘मैले पहिलो दिन देखेको मौसम र आजको मौसममा मैले धेरै अन्तर पाएँ। खेलाडीको रूपमा उसले गरेको अथक परिश्रमका लागि म यो अवार्ड मौसमलाई दिन चाहन्छु।’

रोहितको यो नेतृत्वलाई प्रशिक्षक मोन्टी देसाइ र अन्य खेलाडीहरूले प्रशंसा गरे। सो क्रममा प्रशिक्षक मोन्टी देसाइले रोहितको क्याप्टेन्सी र खेलको समेत खुलेर तारिफ गरे।

उसो त रोहितको ब्याट केही समयदेखि राम्रोसँग चल्न सकिरहेको थिएन। उनी आफैँले पनि त्यसलाई स्वीकार गर्दै आएका छन्।

युएईको खेलपछिको पत्रकार सम्मेलनमा पनि उनले आफूले बनाएको योजनाअनुसार काम नै नभइरहेकाले तनाव भएको बताएका थिए। यद्यपि युएईविरुद्धको खेलपछि आफूमा आत्मविश्वास बढेको उनको भनाइ थियो।

कात्तिक ५, २०८० आइतबार ०८:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।