नवरात्रको आठौँ दिन : महागौरीको अर्चना र कालरात्रिको आराधना गरिँदै (पूजा विधिसहित)
नवदुर्गाका नौ शक्तिमध्ये आठौँ शक्तिको नाम महागौरी हो। शारदीय नवरात्रको आठौँ दिन अर्थात् आश्विन शुक्ल अष्टमीका दिन यिनै महागौरीको पूजा गरिन्छ। यस दिनलाई महाष्टमी पनि भनिन्छ।
महाष्टमीका दिन दुर्गाका नौ शक्तिमध्ये महागौरीको अर्चना गर्ने दिन हो। गौरी शब्दको अर्थ गोरी भन्ने हुन्छ। गोरो वर्णकी महाशक्तिसम्पन्न देवी हुनाले यिनलाई महागौरी भनिएको हो।
महागौरी कसरी यस्ती गोरी भइन् भन्ने सन्दर्भमा यस्तो पौराणिक आख्यान पाइन्छ। हिमालयपुत्री पार्वतीले महादेव पति पाऊँ भनेर हजारौँ वर्ष तपस्या गरिन्। कठोर तपस्याबाट प्रसन्न भएर शिवजी प्रकट हुनुभयो र पार्वतीलाई दर्शन दिनुभयो। पार्वतीले ‘हजुरलाई पतिका रूपमा पाऊँ’ भन्ने वरदान मागिन्। शिवजीले उनको प्रार्थना स्वीकार्नुभयो।
तपस्या गर्दा क्षीण भएकाले पार्वतीको शरीर मलिन र कालो वर्णको भएको थियो। भगवान् शङ्करले उनलाई गंगाजलले स्नान गराउनुभयो र मिचीमिची पखाल्नुभयो। यसले गर्दा पार्वती गोरी भइन्। त्यहीँदेखि उनको नाम गौरी भएको हो। गौरी महादेवकी शक्ति बनेर रहिन्।
गौरीको रूपरंग मात्र गोरो होइन यिनका वस्त्र र आभूषण पनि सेता नै छन्। यिनी चतुर्भुजा देवी हुन्। यिनका दायाँतर्पmका एक हातमा त्रिशूल छ भने अर्को हात अभयमुद्रामा छ। बायाँतर्फका एक हातमा डमरु छ र अर्को हात वरमुद्रामा छ। यिनी सौम्य र शान्त प्रकृतिकी देवी हुन्। यिनको वाहन सेतो वृषभ हो।
महागौरी चाँडै प्रसन्न हुने र तत्काल फल दिने देवी हुन्। यिनको उपासना गर्नाले भक्तले सबै किसिमका कल्याण प्राप्त गर्दछन्। भक्तका पूर्वसञ्चित पापसमेत नाश गरेर अक्षय पुण्य प्रदान गर्ने महागौरीले दुःख-कष्ट, पीर-बाधा सबै नाश गरिदिन्छिन्।
विद्या, बुद्धि, मानसिक शान्ति, सफल दाम्पत्य र अटल सौभाग्यका लागि महागौरीको उपासना गरिन्छ। अविवाहिता युवतीहरूले सुन्दर र मनोनुकूल पति प्राप्त गर्नका लागि महागौरीको आराधना गर्नु फलदायी हुन्छ।
पूजाविधि
नवरात्रका अघिल्ला दिनहरूमा जस्तै आठौँ दिन महागौरीको पूजा हुन्छ। महागौरीलाई अरू मन्त्रका अतिरिक्त ‘ॐ महागौर्यै नमः’ भनेर पूजा गर्न सकिन्छ। प्रत्येक दिन पूजा गर्दा ‘प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी...’ भनेर दुर्गाका नौ रूपको नै पूजा गर्नुपर्छ।
निश्चित दिनमा निश्चित रूपको पूजा गर्नु भनेको विशेष पूजा हो। महागौरीको पूजा गर्दा उनको वाहन वृषभ/गोरु, शस्त्र त्रिशूल र वाद्य डमरुको पनि पूजा गर्नुपर्छ। सप्तमीका दिनदेखि नवपत्रिकाको पूजन पनि देवीपूजाको अंगका रूपमा थपिन आउँछ।
अष्टमीका दिन कलपूर्जा र सवारी साधनको पनि पूजा गर्ने चलन छ। कलपूर्जा र सवारीको पूजा कतै नवमीका दिन पनि गर्ने गरेको पाइन्छ। शक्तिका साधन भएकाले शक्ति-उपासनाका क्रममा यिनको पनि पूजा गरेको देखिन्छ। कलपूर्जा, सवारी साधन आदिको पूजा गर्दा तिनलाई धोइपखाली सफा गरेर चन्दन अक्षता फूल आदि सामग्रीले पूजा गर्नुपर्छ।
कालरात्रि-पूजा
वर्षमा चारओटा रातलाई विशेष महत्व मानिएको छ। ती हुन्- मोहरात्रि, कालरात्रि, सुखरात्रि र महारात्रि। भाद्र कृष्णपक्षको अष्टमी कृष्णजन्माष्टमी हो। यस रातलाई मोहरात्रि भनिन्छ।
आश्विन शुक्ल अष्टमीको रात्रिलाई कालरात्रि भनिन्छ। कार्तिक कृष्णपक्षको औँसीको रात लक्ष्मीपूजा गर्ने रात हो। यसलाई सुखरात्रि भनिन्छ। फागुन कृष्णपक्षको त्रयोदशीको रात शिवरात्रि हो। यसलाई महारात्रि भनिन्छ। यी चार रात्रिमा क्रमशः कृष्ण/विष्णु, दुर्गा, लक्ष्मी र शिवको पूजा हुने भएकाले महमहत्वपूर्ण रात्रि हुन्।
नवरात्रको अष्टमीका रातमा दुर्गा देवीको विशेष पूजा हुन्छ। रातमा गरिने यो पूजालाई कालरात्रि-पूजा भनिन्छ। कालरात्रिको पूजाका लागि अष्टमीका साँझ नित्यपूजा सकेपछि देवीपूजाका लागि र होमका लागि चाहिने सामग्री तयार गरेर पूजास्थलमा गइन्छ। त्यहाँ दीप, कलश, गणेश, क्षेत्रपाल, नवग्रह आदि स्थापित देवताहरूको संक्षिप्त पूजा गरेर घटस्थापनाको कलशमा दुर्गा देवीको षोडशोपचारले पूजा गरिन्छ। त्यसपछि नवपत्रिकाको पूजा गरिन्छ।
अब देवीको विशेष पूजाका लागि देवीको स्थापनाको दाहिनेबाट सुरु गरी ‘ॐ जयन्ती मंगला काली...’ मन्त्रले वरिपरि मन्त्रमा उल्लेख भएका देवीको पूजा गरिन्छ। यसैगरी बायाँबाट पनि वरिपरि, देवीको अघिल्तिर, छेउछाउमा पूजा गरिन्छ। देवीको छेउमा भैरवको पनि पूजा हुन्छ। अनि देवीलाई अर्घ, बेलपत्र, माला, वस्त्राभूषण आदि समर्पण गरी देवीका अघिल्तिर सिंहको र चारैतिर दिक्पालको पूजा गरिन्छ।
देवीपूजाका क्रममा शस्त्रअस्त्रको पनि पूजा हुन्छ। पूजाका लागि हातहतियार धोएर, माझेर, धार लगाएर राखिन्छ। तिनमा ‘ॐ शस्त्रेभ्यो नमः’ भनेर पूजा गर्न सकिन्छ। अनि ‘ॐ सिंहासनाय नमः’ भनेर सिंहासनको पनि पूजा गर्नुपर्छ।
यसपछि एउटा छुट्टै थालीमा अष्टदल बनाएर अथवा केराका पातमा नौवटा चामलका थुप्रा बनाएर नवदुर्गाको स्थापना गरी पूजा गर्ने विधान छ। यसमा पहिले नौ देवीको अनि क्रमशः आठवटा आवरण (वरिपरि गोलो घेरा) कल्पना गरी ६४ योगिनीको पूजा हुन्छ।
यसपछि देवीका अगाडि बलि (कुभिन्डो वा जीवबलि) ल्याएर त्यसलाई जलसेचन गरी खड्गको पनि पूजा गरिन्छ। अनि बलि सङ्कल्प गरेर घण्टा, डमरु आदि जेजे बाजागाजा छन्, बजाउँदै देवीलाई बलि दिइन्छ। यसपछि बाँकी बलि पनि दिइन्छ।
देवीपूजाको कर्म सकिएपछि कालरात्रिको होम हुन्छ। यसमा अग्निस्थापना विधिले विशेषकर्म अघिको होम गरेपछि पायसद्वारा नवार्ण मन्त्रले सात सय पटक ‘ॐ देव्यै स्वाहा’ भनेर होम हुन्छ। अनि बाँकी होम सकेर टीका, प्रसाद आदि ग्रहण गरिन्छ, कालरात्रिको पूजनकर्म समाप्त हुन्छ।
कात्तिक ५, २०८० आइतबार ०७:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।