‘पशुपतिप्रसाद-२ भष्मे डन’ : दशैंमा मुड खराब गर्न उत्तम फिल्म
दर्शकहरूमाझ निकै कौतूहलता निर्माण गर्न सक्षम भयो निर्माण टिम। त्यसको प्रभाव फिल्म रिलिजको पहिलो दिन हलमा पनि देखियो। तर फिल्म ‘पशुपतिप्रसाद-२ भष्मे डन’ दाबी गरिएजस्तो गतिलो फिल्म हैन।
रिलिज अगाडि जसरी माहौल बनाएर हलसम्म दर्शक तान्न निर्माण टिम सफल भयो त्यसरी नै हलसम्म पुगेका दर्शकलाई सन्तुष्ट बनाउन सफल भएनन्। पशुपतिप्रसादमा 'भष्मे डन'को चरित्र सम्झँदै उत्साहित भएर हल पुगेका दर्शक निर्देशकको पारा देखेर दिक्दारहुँदै बाहिरिन्छन्।
दशैँमा मुड फ्रेस बनाउने आस गरिएको फिल्मले उल्टो दिक्क बनाउँछ दर्शकलाई। पहिलो फिल्ममा पशुपतिप्रसादको दुखद अन्त्यबाट तानिएका दर्शकलाई सिक्वेलमा सन्तुष्ट बनाउन फिल्म चुक्नुमा पटकथा तथा निर्माता समेत रहेका खगेन्द्रकै सबैभन्दा ठूलो कमजोरी देखिन्छ।
उनले समस्या नै समस्याले जेलिएका पात्रको निर्माण गरेका छन् अनि अलपत्र पारेर छाडेका छन्। यो फिल्मको सबैभन्दा कमजोर पक्ष नै कथा अनि पटकथा र पात्रको संयोजनै हो।
प्रेमीका, वृद्धाश्रममा छाडिएकी आमा अनि मितबामा सकारात्मक आशा जगाएर बागमतीमा भेटिएको सुनको औँठी बेच्न हिँडेका पशुपतिप्रसाद त्यतैबाट परलोक यात्रामा हिँड्छन्। त्यहीँ फिल्मको अन्त्य गराएर निर्माण टिमले पशुपतिप्रसादको सिक्वेल बनाउने सङ्केत दिइसकेका थिए।
सात वर्ष लाग्यो ‘पशुपतिप्रसाद-२ भष्मे डन’को नाममा सिक्वेल बनाउन। सिक्वेल त बनाए तर पहिलो फिल्मको साखै निमिट्यान्न बनाउने गरी। उनी मात्रै हैन यही फिल्मबाट अभिनयमा अलग छवि बनाउन सफल विपिन कार्कीको बलियो पात्रलाई समेत कमजोर बनाइदिए।
भष्मे डन, मितबा, सुन्ने तर बोल्न नसक्ने फरक क्षमताकी प्रेमीका, सक्षम भए पनि परिवारले वृद्धाश्रममा बस्न बाध्य बनाएकी आमा, पशुपति क्षेत्रमा हुने व्यापारमा कब्जा गर्न हुने प्रतिस्पर्धा। यसै वरिपरि कथा घुमेको छ भष्मे डनको कथा पनि। पात्रहरूको सामाजिक अनि मानसिक द्वन्द्व वरपर घुम्दाघुम्दै कथा सकिन्छ।
पशुपतिप्रसादमा भुकम्पपछिको अवस्था देखाउने प्रयास गरेको थियो निर्माण टिमले। अहिले कोरोना कहरपछिको अवस्था समेटिएको छ। तर त्यो पनि प्रष्ट छैन।कोरोनाकालिन कथा थप्दा कालीप्रसाद नागाको चरित्रमा सौगात मल्ल र मैनाको चरित्रमा स्वस्तिमा खड्का थपिएका छन्।
कलाकारको अभिनयमा मिहिनेत देखिन्छ। उनीहरूले सक्दो मिहिनेत गरेका छन्। स्रिङक साउन्ड विधि अपनाएकाले भीडभाडमा खिचिएका दृष्यको पनि ध्वनि राम्रो सुनिएको छ। ब्याकग्राउन्ड म्युजिक मध्यम छ फिल्मको।
विपिन कार्कीले पशुपतिप्रसादकै क्यारेक्टरलाई निरन्तरता दिएका छन्। उनको गेटअपमा टिसर्ट बदलिएको छ। दाँत सुनको बनेका छन्। विद्याश्रमको भग्नावशेषलाई उनको अड्डाको गेटअप बनाइएको छ। आफ्नो चरित्रमा विपिनले सक्दो मिहिनेत गरेका छन्। तर पट्यारलाग्दो दृष्यले दर्शकसम्म प्रभाव विस्तार भएको देखिएन। पहिलो हाफमा उनका केही संवादहरुले दर्शकलाई हसाउँछ।
पशुपतिप्रसादमा देखिएको विपिनको भष्मे डनको चरित्र त छ तर त्यसले दर्शकलाई फिल्म अवधिभर तानिराख्न सक्दैन। द्वन्द्व स्थापित गर्न लम्ब्याइएको दृष्यले पहिलो हाफमै दिक्क बनाउन थाल्छ भष्मे चरित्रले। दोस्रो हाफमा तन्किने देवी र भष्मेको चरित्र बलियो नहुँदा पात्र रुँदा समेत दर्शकलाई त्यसको संवेदनाले छुँदैन।
नकारात्मक पात्रबाट असल पात्रमा परिवर्तन भएका भष्मेको चरित्रमा ‘व्रत बसेको छु नत्र’ भन्ने डायलग बाहेक चरित्रमा सकारात्मक पक्ष हाबी देखिँदैन। भष्मेको भासिएको स्वर सुनेर पशुपतिप्रसादमा दर्शक जसरी रमाएका थिए यो पटक भने ‘ह्या कति त्यही भनिराख्या होला’ भनेर दिक्क पार्छन्।
‘षडङ्ग’ लगायतका केही फिल्ममा सौगात मल्लको मधेशीको चरित्र हेरिसकेका दर्शकका लागि भष्मे डनमा उनको चरित्र नयाँ लाग्दैन। तर चरित्रलाई आफ्नो पक्षबाट न्याय गर्ने प्रयास भने गरेका छन्। उनको लवाई अनि बोलाईले उनी गैर मधेशी हुन् है भन्ने छनक समेत दिएको छैन।
तर, जसरी भष्मे डनलाई दोस्रो सिक्वेलमा मुल पात्र बनाए त्यसरी नै तेस्रो सिक्वेलमा निर्देशकले सौगातको चरित्रलाई सहयोगीबाट मुल पात्र सिक्वेल बनाउन भुमिका निर्माण गरेको छनक देखिन्छ।
मुखुण्डोधारी माता बनेकी स्वस्तिमाले चरित्रमा घुस्न सक्दो प्रयास गरेकी छिन्। आशीर्वाद दिँदा उनले भन्ने ‘ह्या’ शब्दले दर्शकको ध्यान तान्छ। तर, उनको चरित्र स्थापित नगरी कथा अगाडि बढाउन निर्देशकले गरेको हतारले उनी दर्शकको स्मृतिमा लामो समय बस्न सफल भइनन्।
प्रकाश घिमिरे पशुपतिप्रसादको मितबाबाट भष्मे डनको बा भएका छन्। उनी किन भष्मे डनको बा भए कथाले खुलाउँदैन। पशुपतिप्रसाद हेरेका दर्शक आफैँले पशुपतिप्रसाद मरेपछि होला भनेर अनुमान गर्नुपर्छ। नहेरेका दर्शक ट्वाँ पर्नुको विकल्प देखिँदैन।
पहिलो फिल्ममा हनुमान बनेका रवीन्द्रसिंह बानियाले अवतार बदलेका छन्। तर, हनुमानको छाप दोहोर्याउन सफल छैन उनको पात्र।
फिल्म प्रोमोसनको क्रममा निर्माण टिमले हल्ला गराउन जति मिहिनेत गरेका थिए त्यसको ३० प्रतिशत मात्रै मिहिनेत फिल्मको कथा, पात्र चयन , द्वन्द्व निर्माण, चरित्र चित्रण लगायतमा लगाएको भए दशैंको माहौलमा मुड फ्रेस बनाउन हलमा पुगेका दर्शक गाली गर्दै हलबाट पक्कै बाहिरिने थिएनन्।
यसको सरप्राइज भनेको फिल्ममा जे-जे होला भन्ने अपेक्षा गरेर दर्शक हलमा जान्छन् ती भेट्दैनन्। फिल्मको कथामा वान लाइन स्टोरीको निकै महत्त्व हुन्छ। जसरी यो फिल्मको निर्माण भएको छ त्यो हेर्दा यसको वान लाइन स्टोरी दर्शकलाई कसरी दिक्क बनाउने भन्नेमा केन्द्रित देखियो।
पुस्तकमा मूल कथा सुरू हुनुभन्दा अगाडि पुस्तकको पृष्ठभूमि बुझाउन जसरी भूमिका राखिएको हुन्छ ‘पशुपतिप्रसाद-२ भष्मे डन’ तेस्रो सिरिज बनाउने भूमिकाले भरिएको छ।
यो फिल्मको सबैभन्दा ठूलो कमजोरी नै कथा, पटकथा र द्वन्द्व निर्माणमा देखिन्छ। यो फिल्म कसको कथा हो? भष्मे डनको? कालीप्रसादको? माताको या मितबा? वा हनुमान? निर्देशक पूरै अलमलमा छन्।
पुराना पात्रहरू पशुपतिप्रसादमै स्थापित भइसकेकाले त्यसैको सिक्वेलमा पुन: पात्रको चरित्र स्थापित गराउन समय खर्च नगर्नु ठिकै हो। तर, नयाँ चरित्रमा भित्रिएका सौगात मल्ल अनि स्वस्तिमाको चरित्र स्थापितै नगरी निर्देशकले फिल्म दौडाए।
मैना बनेकी स्वस्तिमा अनि भष्मेबीचको सम्बन्ध स्थापित नगरी बिचैमा अलपत्र छाडेका छन्। उनीहरुबीच मनको सम्बन्ध बढ्दै गएको देखाउन सकेका छैनन्। फिल्ममा मैना पशुपतिमा आएर देवी किन बनिन् छुस्स छुवाएका छन्। तर, त्यसले चरित्र स्थापित गर्न सघाएको छैन।
फिल्म ‘पशुपतिप्रसाद’ पशुपतिप्रसाद बनेका खगेन्द्र र भष्मे डन बनेका विपिनबीच बागमती नदीमा पाइने सुन र पैसा, लास जलाउने काठको व्यापारमा प्रभाव बढाउने प्रयासमा उत्पन्न हुने द्वन्द्वबाट फिल्मको कथा अघि बढेको थियो। विपिन पशुपतिका अवैध स्रोतहरूमा कब्जा जमाउन चाहन्छन्। पशुपतिप्रसाद ऋण तिर्ने पैसा कमाउन आम्दानीको विविध विकल्प खोज्छन्।
तर ‘भष्मे डन’मा न कथा एकल छ न त द्वन्द्व नै। भष्मेसँग द्वन्द्व गराउन पारिवारिक समस्याले रन्थनिएर पशुपति पुगेका सौगात मल्लको चरित्र निर्माण गरिएको छ । तर, उनको चित्रण स्थिर छैन। निर्देशकले उनलाई कतै कमजोर पात्रका रूपमा देखाएका छन् त कतै बलियो।
पशुपतिप्रसादमा मुकुट खोलिसकेका हनुमानको चरित्रलाई विस्थापित गर्न स्वस्तिमालाई देवी बनाएर फिल्ममा भित्र्यायो। पहिलो फिल्ममा हनुमानले मुकुट लगाउनुको कारण पहिचान लुकाउनु खुलाएका निर्देशकले मैना देवी बन्नुको कारण आर्थिक हो कि सामाजिक खुलाउन चासो दिएनन्।
गाउँबाट काठमाडौं आएर डान्सबारमा काम गर्न बाध्य केटीको कथा छुस्स छोए स्वस्तिमामार्फत। तर, उनी पशुपति आउनुको कारण पेशाप्रतिको विरक्ति हो या अन्य? पहिचान लुकाउनुको पछाडिको कारण के हो कतै खुल्दैन।
पशुपतिप्रसादमा पशुपति बनेका खगेन्द्रलाई ऋण तिर्न चाहिएको ५० हजारबाट द्वन्द्वको निर्माण भएको थियो। उनले ५० हजार कमाएर ऋण तिर्न सक्छन् कि सक्दैनन् दर्शक त्यसैको प्रतीक्षामा हलको सिटमा अडिएका थिए। भष्मे र हनुमानको द्वन्द्वले दर्शकलाई मनोरञ्जन दिएको थियो। पशुपतिको एकतर्फी प्रेमले शृङ्गार रसको प्रतिनिधित्व गरेको थियो।
भष्मे डनमा विपिन र स्वस्तिमाको निकटतामार्फत श्रृंगार रस जन्माउने प्रयास नगरिएको हैन। तर दर्शकले अनुभवै गर्न नपाई बिलाउँछ त्यो श्रृंगार रस।
पशुपतिप्रसादमा मितबा बाट भष्मेको बा बनेका प्रकाश अधिकारीको दोहोरो चरित्र निर्माण गरेका छन्। त्यो पनि अस्पष्ट छ। उनी भष्मेलाई छोरा पनि भन्छन् धोका पनि दिन्छन्। तर किन खुल्दैन। छोरा खोज्न आएका बा अनि बा खोजीरहेका छोराको कथा त्यसैत्यसै अल्मलिएको छ।
अनाथाश्रमको आवरणमा हुने मानवतस्करीलाई निर्देशकले छोए मात्र। भष्मे डनले खोजेको परिचय नपाउनुको कथा खोज्न मानवतस्करी जोडिराख्न आवश्यक देखिदैन। जोडिसकेपछि छुस्स छुँदा न्याय भएन। हनुमानबाट वैकुण्ठको चरित्रमा आएका रवीन्द्रसिंह बानियामा एकाएक आउने परिवर्तनको कारण के हो? त्यो पनि खुल्दैन।
भष्मे भनेपछि दर्शक हलसम्म आइहाल्छन् नि भन्ने भ्रममा देखियो निर्माण टिम। दर्शक उनीहरूको दाबी अनि पशुपतिप्रसादको प्रभावले हलमा आएका छन्। तर उनीहरूले फिल्मको कथालाई जता पायो त्यतै जसरी दौडाएका छन् नि त्यसले दर्शकले धोका पाएको महसुस गर्नेछन्।
पशुपतिप्रसादका दर्शक ट्रेन स्टेशनका यात्रु हैन जसले विश्वास गरेर सामान किनेपछि गुनासो गर्न फर्कने ठेगानै हुन्न। यी त टोलका ग्राहक हुन् जो सधैँ ठोक्किरहन्छन्। तर निर्माण टिमले ट्रेन स्टेशनका यात्रुको जस्तै व्यवहार देखाए।
फिल्मको प्रमोसनमा आँचल शर्माको नामको राम्रै प्रयोग गरियो। उनी अभिनीत एक गीत पनि सार्वजनिक भयो जसमा भष्मेको असुहाउँदो नृत्य राखिएको थियो। तर हलमा प्रदर्शन हुँदा गीत गायब छ।
निर्माण टिमले त्यसलाई प्रोमोशनल गीत पनि भनेका छैनन्। अभिनेत्री आँचलको अभिनय हेर्न हलसम्म पुग्नसक्ने आँचलका फ्यानलाई निर्माण टिमले झुक्क्याउने काम गरेको छ। भष्मे र मैनाबीचको निकटताले ‘प्रेम शरणम्’ गीत कथाकै भाग रहेको फिल्म हेर्दा देखिन्छ। तर त्यसलाई फिल्ममा अटाइएको छैन।
फिल्म कस्तो बनाउने त्यो निर्देशकको जिम्मेवारी हो। कथानक अनुसारको चरित्र निर्माण गरेर त्यसलाई अगाडि बढाउनु, द्वन्द्व निर्माण गरेर दर्शकमाझ कौतूहलता बढाउनु र फिल्मको कथाको सफल समापन गराउने जिम्मा पनि निर्देशककै हो।
यसमा दीपेन्द्र पूरै असफल देखिए। फिल्म निर्माणबारे दीपेन्द्र के खनाल जति उत्कृष्ट गफ गर्न सक्छन् त्यति नै नै झुर फिल्म पनि बनाउन सक्छन् भन्ने प्रमाण यही फिल्म देखियो।
जस्तो झुर फिल्म भए पनि नेपाली फिल्मलाई माया गर्न अनि ‘पानीफोटो’ बनाउँदा डुबेको र भष्मे डनमा भएको खगेन्द्र लामिछानेको लगानी उठाइदिन ‘पशुपतिप्रसाद-२ भष्मे डन’ हेर्दा हुन्छ। विपिन र सौगात एकै फिल्ममा अभिनय गरेको हेर्न रहर छ भने पनि हेर्दा हुन्छ। यी दुवै अभिनेता एकै फिल्ममा कमै देखिने गरेका छन्।
कात्तिक ४, २०८० शनिबार २०:१९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।