फ्रिफायरको लोभ देखाएर सात वर्षकी बालिकाको बलत्कारपछि हत्या, २१ वर्षका युवा पक्राउ

फ्रिफायरको लोभ देखाएर सात वर्षकी बालिकाको बलत्कारपछि हत्या, २१ वर्षका युवा पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौँ : हराएकी सात वर्षीय बालिका खोज्ने क्रममा भोजपुर प्रहरीले २१ वर्षका एक युवालाई नियन्त्रणमा लिएर केराकार सुरु गर्यो। शङ्का लागेर उनको कपडा खोलेर हेर्दा ढाडमा कोतरिएको दाग देखियो। गम्भीर अपराध भयो कि भनेर अनुसन्धान बढाउँदा दशैँको फूलपातीमा अकल्पनीय घटना भइसकेको खुल्यो।

बालिका मृत अवस्थामा फेला परिन्। घटनास्थलको अवस्था र युवाले सकारे अनुसार उनले ती सात वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको देखियो।

'पहिला बालिका हराएको भनेर निवेदन आए लगत्तै प्रहरीले खोजी तीव्र बनाइसकेको थियो,' जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले उकेरासँग भने' शङ्का लागेर नियन्त्रणमा लिएका थियौँ। पछि बालिकाको शव नै फेला पर्यो।'

प्रारम्भिक अनुसन्धानमा ती युवाले फ्रिफायर खेल्न दिने भन्दै लोभ्याएर बालिकालाई लगेर बलत्कार गरेको खुलेको प्रहरीले जानकारी दियो। बलत्कार गर्दा बालिकाले प्रतिकार गर्दा ढाडमा कोतरियो। पछि उनले बालिकाकै हत्या गरे।

पाठकका अनुसार बालिका बिहीबार बेलुका ६ बजेतिर हराएकी थिइन्। भोजपुर आमचोक गाउँपालिका. ६ थुन्कीमा रहेकी उनी आफ्नै घरमा खेली रहेको अवस्थाबाट हराएको भन्दै प्रहरीमा शुक्रवार उजुरी आएको थियो।

इलाका प्रहरी कार्यालय बोयाङ भोजपुरमा टेलिफोनबाट जानकारी आएपछि प्रहरीले प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी टोली खटायो।

सोही टोलीले बालिकाकै छिमेकी २१ वर्षको दिपचन्द्र राईलाई शुक्रवार दिउस ११ बजे नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनले दिएको जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षकको कमान्डमा ९ जना, इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी नायब निरीक्षकको कमान्डमा १७ जना र  बालिकाको आफन्तसहितको टोलीले बालिकाको खोजी सुरु गरेको थियो।

सो टोलीले शनिवार बिहान ८ बजे बालिकाको घर देखी साढे एक किलोमिटर पर रहेको आमचोक गाउँपालिका ६ टेङलुङछुकको जङ्गलको गुफामा पानीमुनी लुकाएको अवस्थामा शव फेला पारेको थियो।

कात्तिक ४, २०८० शनिबार १२:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।